• २ असार २०८१, आइतबार

प्रेरणादायी महिला पौडेल र सुनुवार सम्मानित

blog

माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला सम्मानित प्रेरणादायी महिला पौडेल र सुनुवारका साथमा ।

काठमाडौं, फागुन २४ गते । माइती नेपालले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा प्रेरणादायी कार्य गर्ने मेनुका पौडेल र रत्नकुमारी सुनुवारलाई सम्मानित गरेको छ । 

दृष्टिविहीन रहनु भएकी इन्डियन आइडल सिजन १४ मा बलियो प्रतियोगीका रूपमा दर्शकको मन जितेकी पौडेल र ८० वर्षको उमेरमा उच्च माध्यमिक तहको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेर शैक्षिक उत्कृष्टता हासिल गर्ने सुनुवारलाई सम्मानित गरिएको जानकारी माइती नेपालले दिएको छ । 


नेपालस्थित भारतीय राजदूतावास, माइती नेपाल र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र बिपी कोइराला इन्डिया–नेपाल फाउण्डेशनको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। 

माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले महिला सशक्तीकरण र उनीहरूको अधिकारको वकालत गर्न माइती नेपालको प्रतिबद्धतालाई जोड दिनु भयो । 

उहाँले महिलाको उल्लेखनीय उपलब्धिको कदर गर्ने र आम महिलालाई अवरोधहरू तोड्न र आफ्नो सपनालाई पछ्याउन प्रेरित गर्ने मञ्चको रूपमा उपयोग गर्नेमा जोड दिनुभयो । माइती नेपालले लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने, मानव बेचबिखन र शोषणलाई रोक्न र दुर्व्यवहार र शोषणबाट बाँचेकालाई सहयोग गर्दै आएको छ ।