• २ असार २०८१, आइतबार

तीन जनालाई झपट पुरस्कार

blog

काठमाडौं, फागुन २४ गते । झपट पुरस्कार व्यवस्था समितिले २०८० सालको ‘झपट पुरस्कार’ अमरप्राज्ञ कञ्चन पुडासैनीलाई दिने निर्णय गरेको छ ।

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सो पुरस्कार पुडासैनीलाई दिने  निर्णय समितिले गरेको हो ।

यसैगरी, योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा अहोरात्र समर्पित भई मानव स्वास्थ्यसेवाको संवर्द्धनमा उल्लेखनीय योगदान दिने डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ दिने निर्णय भएको छ ।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

समितिका सदस्यसचिव रेखा राणाले नेपाली कथा साहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिने प्रा.डा.ऋषिराम शर्मालाई २०८० सालको ५० हजार रुपियाँ राशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ दिने निर्णय भएको जानकारी दिनुभयो ।

झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते झपट पुरस्कारहरू उहाँहरूलाई प्रदान गरिने कार्यक्रम रहेको छ ।

झपट पुरस्कार गुठीका अध्यक्ष अरुण राणाको अध्यक्षतामा बसेको गुठीको बैठकले सो निर्णय गरेको हो ।