• १३ साउन २०८१, आइतबार

सङ्घीयता कार्यान्वयका लागि आवश्यक कानुन बनाउँछु: कानुन मन्त्री गिरी

blog

काठमाडौँ, फागुन २३ गते । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज साँझ पदभार ग्रहण गर्दै मन्त्री गिरीले मुलुकको विकास निर्माणमा सहयोग पुग्ने गरी कानुन निर्माणमा ध्यान दिने बताउनुभयो । न्यायमा पहुँच अभिवृद्धिका लागि कानुनी सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न तथा मन्त्रालयको समग्र कामकारबाहीलाई व्यवस्थित बनाउन आवश्यक कार्ययोजनाका साथ अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री गिरीले एकीकृत कानुनी सहायतासम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को सिद्धान्त स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय गर्नुभयो । प्रस्तुत विधेयकमा नेपालको संविधानको धारा २० को उपधारा ९१०० ले न्याय सम्बन्धी हकअन्तर्गत असमर्थ पक्षलाई कानुनबमोजिम निःशुल्क कानुनी सहायता पाउने हकको प्रत्याभूत गरेको तथा एकीकृत कानुनी सहायतासम्बन्धी नीति, २०७६ कार्यान्वयन गर्न रहेको छ ।

त्यस्तै, संविधानको भावनाअनुरुप निःशुल्क कानुनी सहायता प्राप्त गर्ने असमर्थ पक्षको दायरा फराकिलो बनाउन तथा न्यायिक निकायमा मात्रै सीमित कानुनी सहायतालाई अर्धन्यायिक निकायमा समेत विस्तार गरी नेपालको सङ्घीय शासन प्रणालीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रुपमा कानुनी सहायतालाई प्रभावकारी बनाउन कानुनी सहायतासम्बन्धी ऐन, २०५४ खारेज गरी नयाँ एकीकृत कानुनी व्यवस्था गर्ने उद्देश्य रहेको छ ।

विसं २०३३ फागुन २८ गते पर्वतको दुर्लुङमा जन्मनुभएका मन्त्री गिरीले २०५० सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट अनेरास्ववियुको राजनीतिमा सुरु गर्नुभएको थियो । विसं २०५४ मा नेकपा [एमाले] दुर्लुङ गाउँ कमिटी सचिव, २०५५ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको सदस्य, २०५७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष भएर उहाँले काम गर्नुभएको थियो । मन्त्री गिरीले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

विसं २०५९ स्ववियुमा पुनः दोस्रोपटक उपसभापति, २०६२ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति, २०६७ नेकपा ९एमाले० पर्वत जिल्ला कमिटी सचिवालय सदस्य, २०७२ सालमा पर्वतको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित, २०७४ सालमा उहाँ पर्वतबाट पहिलोपटक संघीय सांसद बन्नुभएको हो ।

मन्त्री गिरी २०७५ सालमा एमाले गण्डकी कमिटी सदस्य, १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सहइञ्चार्ज, २०७९ मङ्सिरमा दोस्रो पटक पुनः उहाँ सङ्घीय सांसद बन्नुभएको थियो । यसअघि उहाँ २०७९ माघ ३ गते स्वास्थ्य तथा जनसङ्यामन्त्री बन्नुभएको थियो ।