• १६ वैशाख २०८१, आइतबार

न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन, नेपाल खण्ड छुट्टै बनाइने

blog

काठमाडौँ, फागुन २४ गते । नेपाल–भारत विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिँदै आएको न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड एमसिए नेपालले छुट्टै प्याकेज बनाएर निर्माण गर्ने भएको छ । 

प्रसारण लाइनको समग्र परियोजना कार्यान्वयनमा सिथिलता देखिँदा अन्तरदेशीय प्रसारण लाइन पूर्वाधार पनि समस्यामा पर्ने भएपछि एमसिए–नेपाल सञ्चालक समितिले नवलपरासीको न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्ने निर्णय गरेको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदानमा बनाउने भनिएको विद्युत् प्रसारण आयोजना अन्तर्गत ३१५ किमी लामो प्रसारण लाइन निर्माणको प्रव्रिया जग्गा अधिग्रहण तथा ठेक्का तयारीमै अलमलिएको छ । यो अलमलले अन्तरदेशीय प्रसारण लाइन नै समयमा तयार नहुने अवस्था आएको थियो । महेशपुरदेखि गोरखपुरसम्मको ९५ किलोमिटर प्रसारण लाइन खण्ड निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड अफ इन्डियाको संयुक्त र समान साझेदारीमा कम्पनी स्थापना गरिएको छ । सो कम्पनीले सो प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता गरेर ठेकेदारले काम पनि सुरु गरिसकेको छ । “भारततर्फको खण्ड सन् २०२६ को मेसम्म निर्माण सक्ने गरी काम हुने तर नेपालततर्फकामै नभएको अवस्थाले गर्दा हामीलाई समस्या पर्ने अवस्था थियो ।” 

एमसिए नेपालले सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबिचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर गरी छुट्टै प्याकेजमा बनाउने निर्णय गरेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवीनराज सिंहले यस खण्डको गम्भीरता र महत्वलाई दृष्टिगत गर्दै एमसिए–नेपाल सञ्चालक समितिले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । “यस खण्डलाई बृहत् समग्र प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्ने छ,” उहाँले भन्नुभयो ।

चार सय केभी डबल क्वाड मोज कन्डक्टरयुक्त सो प्रसारण लाइनले दुई हजार पाँच सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । न्यु बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि २०७६ असोजमै नेपाल र भारतबिच सहमतिपछि काम अघि बढेको हो । एमसिए नेपालको प्रसारण लाइनको बाँकी २९७ किमी प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीको सेवा खरिदका लागि एमसिए–नेपालले काम अगाडि बढाइरहेको दाबी गरेको छ ।