• १३ साउन २०८१, आइतबार

पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ: अध्यक्ष ओली

blog

महायज्ञलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

बागलुङ, फागुन २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोट धार्मिक पर्यटकीयस्थलका रूपमा देश विदेशमा परिचित भएकाले यसलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार बागलुङ नगरपालिका–६ स्थित प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित महायज्ञमा ओलीले सो कुरा बताउनुभएको हो । पञ्चकोटमा पूर्वाधार निर्माण गरेर मुलुककै मुख्य धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । 

पञ्चकोटमा पूर्वाधार निर्माण गर्न सरकारले आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले महायज्ञलगायतका धार्मिक कार्यक्रमले समाजमा सामाजिक सदभाव कायम राख्न, अनुशासित समाजको निर्माण, सभ्य र सुसंस्कारयुक्त समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

महायज्ञको आयोजना गरेर पञ्चकोटलाई देश विदेशमा परिचित गराउन खेलेको भूमिकाप्रति उहाँले प्रशंसा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले देशमा धर्म र जातका नाममा अशान्ति फैलाउने, समाजलाई भड्काउने कोसिस भइरहेकाले यसतर्फ सजग हुनुपर्दछ । यस्ता महायज्ञमार्फत सकारात्मक सन्देश प्रवाह गरेर जागरण पैदा गर्नु पर्दछ ।’’

‘‘धर्मका नाममा अन्यत्र एकापसमा काटाकाट गर्दछन्, देश बाँड्छन् । अध्यक्ष ओलीले भन्नुभयो, ‘‘हामी नेपालीहरू धर्मका नाममा काटाकाट गर्दैनौँ, देश बाँड्दैनौ । हामीमा धार्मिक सहिष्णुता छ । सबै धर्म मान्नेहरू एकापसमा मिलेर बसेका छौँ, यही नै हाम्रो सुखद पक्ष हो ।’’

महायज्ञका सङ्कल्पकर्ता स्वामी मुक्तिनाथ बाबा कमलनयनाचार्यले अध्यक्ष ओलीलाई स्वागत गर्नुभएको थियो । अध्यक्ष ओलीसँगै आउनुभएका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पञ्चकोटले यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा दिने विश्वास व्यक्त गर्नुभयो । 

पञ्चकोटधाम स्थापनाको १० औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको छ ।  

पञ्चकोटमा विश्व शान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसाथ फागुन ९ गतेदेखि सञ्चालित महायज्ञ आज समापन  हुँदैछ ।