• २२ वैशाख २०८२, सोमबार

‘एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ’

blog

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल ।

काठमाडौं, फागुन २३ गते । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले)सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ ।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आउनुभएका उहाँले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गर्नुभएको हो । सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताउनुभयो । एकता अङ्कमाल गरेर, रमाइलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादि खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो ।

उहाँले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पार्नुभयो । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया सुरु हुने बताउनुभयो ।

‘‘नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) को बिचमा एकता कहिल्यै हुनुहुँदैन भन्ने छैन । विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ  । तर एकता भनेको अङ्कमाल गरेर चाहिँ हुँदैन । एकता भनेको रमाइलोसँग भेटघाट लड्डु आदि इत्यादि खाएर हुँदैन ।,’’  नेकपा एसका सम्मानित नेता खनालले भन्नुभयो, ‘‘एकता भनेको वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ । त्यसो हुनाले त्यो कुरामा मिल्दै गयो भने एकता हुन्छ । अहिले चाहिँ यो कार्यगत एकता हो । कार्यगत एकता आफैंमा एउटा महत्त्वपूर्ण छ । त्यो स्टेपबाट अगाडि बढ्दै गएपछि कम्युनिष्ट र वामपन्थी समूह बिच पार्टी एकीकरणका सम्भावना बढ्छन् ।’’

सम्मानित नेता खनालले कम्युनिष्टहरुबिचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरुले आ–आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्नुहुँदै कमजोरी सच्याएर अघि बढ्ने सङ्कल्प गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।