• १६ भदौ २०८१, आइतबार

दुईवटा गाडी थन्क्याएर भाडाका गाडीमा नगरप्रमुखको मस्ती

blog

रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही र उहाँ भाडामा प्रयोग गरेको गाडी । तस्बिर: गोरखापत्र

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २२ गते । कालीकोटको रास्कोट नगरपालिकाले कमिसनको लोभमा निजी गाडी भाडामा लिएर चलाइरहेको छ । नगरपालिकाको आफ्नै दुई वटा गाडी भए पनि स्कारपियो गाडी भाडामा लिएर चलाइरहेको छ । 

नगर प्रमुख धर्मराज शाहीले जहिले पनि सेतो नम्बर प्लेटको सरकारी गाडी भन्दा पनि रातो प्लेटको गाडी चढेको पाइएपछि सोधी खोजी गर्दा मासिक एक लाख ८० हजारमा स्कारपियो गाडी भाडामा लिएर चलाएको पाइएको हो । नगरपालिकाको आफ्नै दुई वटा गाडी छन् । आफ्ना गाडी थन्काइएका छन् । नगरपालिकाका लेखापाल वीरबहादुर रावतले मासिक एक लाख ८० हजार रुपियाँमा भाडामा चलाइरहेको बताउनुभयो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवान सिह बमले गत कात्तिक महिना देखि भाडाको गाडी चलाइरहेको बताउनुभयो । यता नगरपालिकाको गाडी भने थन्किएका छन् । भाडाको गाडी चलाउँदा वर्षमा २१ लाख ६० हजार नगरपालिकाको बजेट खर्च भइरहेको लेखापाल रावतले बताउनुभयो । 

वार्षिक करिब नौ लाखको इन्धन र २१ लाख ६० हजार गाडीको भाडा गरेर न्यूनतम वार्षिक रूपमा रास्कोट नगरपालिकाले ३० लाख ६० हजार नगरपालिकाले भुक्तानी गदै आएको छ । 

कमिसनका लागि गाडी भाडामा

रास्कोट नगरपालिकामा कार्यरत एक कर्मचारीले सरकारी गाडी बनाउन छोडेर भाडामा लिनुमा कमिसनको चक्कर भएको बताउनुभयो । नाम नखुलाउने सर्तमा भन्नुभयो, नगर प्रमुख धर्मराज शाहीकै आफ्नै नातेदारको गाडी भाडामा लिएर कमिसन लिने गरी भाडामा लिएको हो ।

स्थानीय बसराज बमले राज्यको करबाट खरिद गरिएको गाडी थन्काएर भाडाको गाडी चलाउनुको पछाडि कमिसनकै चक्कर भएको बताउनुभयो । उहाँले तत्काल सम्झौता खारेज गरी नगरकै गाडी चलाउनु पर्ने र वार्षिक ३० लाख बढी खर्च गर्न नहुने बताउनुभयो ।