• १२ मंसिर २०८१, बुधबार

सफलताका लागि छेकेन जन्मजात अपाङ्गताले

blog

अविनाश चौधरी

धनगढी, फागुन २२ गते । छोरा जन्मे फजुल खर्च गरेर भए पनि खुसियाली मनाउने परिपाटी छ तर २०४५ सालमा बैतडीको सुनर्या–३, गोयलीमा नन्दराज भट्टको जन्म हुँदा भने परिवारका कसैलाई पनि शुभसमेत लागेन ।  जेठो सन्तान अशक्त जन्मेको देखेर छरछिमेक र समाजले नानाथरी कुरा काटे । कुल बिग्रेर वा देवीदेवता रिसाएर यस्तो भएको भन्दै उनीहरूले बच्चा नराख्न सुझाए । नन्दराजको परिवारभित्रै पनि बच्चा राख्न नहुने कुरा चल्यो । 

तत्कालीन समयमा बैतडीसहित पहाडी जिल्लामा सुत्केरीलाई ४५ दिनसम्म गोठमा राख्ने चलन थियो । तर समाज र परिवारकैले नन्दराजकी आमा पार्वतीलाई यस्तो बच्चा लिएर गोठमा बस्न नहुने भन्दै त्यहाँबाट समेत निकाल्ने प्रयत्न गरे । “जे परे पर्छ । म गोठ र बच्चा छोड्दिनँ भनेर आमाले जिद्दी गरी स्याउलाले बनाएको गोठमै बस्नुभयो,” आफूलाई पाल्न आमाले गरेको सङ्घर्ष सुनाउँदै ३५ वर्षीय नन्दराज भन्नुहुन्छ, “बुवाको पनि साथ भएपछि आमाले समाजको त्यो हिंसा पार गरेर मलाई हुर्काउनुभएको हो ।”

नन्दराजका बुवा रनि र आमा पार्वतीको पेसा खेतीकिसानी थियो । तरकारी, दुध र घिउ बेचेर जेनतेन परिवारको गुजारा चल्थ्यो । त्यसैमा शारीरिक रूपमा अपाङ्गता भएको छोरा हुर्काउने, पढाउने थप जिम्मेवारीले थिचिएका थिए नन्दराजका अभिभावक । कक्षा ५ सम्म बुवाले उहाँलाई दैनिक बोकेरै स्कुल पु¥याउनुभयो । यसरी अभिभावकले कैयौँ चुनौतीको सामना गरेर आफूलाई पढाएको नन्दराज बताउनु हुन्छ । आमाबुवाले भारतको झुलाघाटसम्म पुगी घिउ, तरकारी बेचेर पढाएका नन्दराज होचो र शारीरिक रूपमा अशक्त भए पनि आफ्नो परिवार र हेला गर्ने समाजकै नजरमा अहिले नायक हुनुभएको छ । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका उहाँ सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालको कार्यकारी निर्देशक र रिह्याब फाउन्डेसनको प्रबन्ध निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । यी दुवै संस्थामार्फत उहाँले आफू जस्तै अपाङ्गता भएकाको हक, अधिकारका लागि पैरवी गरिरहनुभएको छ ।  

“शारीरिक रूपमा अशक्त भएका भोलिको पिँढीलाई हामीले जस्तो कठिनाइ भोग्न नपरोस् र सबैको जीवन सहज रूपमा बितोस् भनेर म लागिपरेको छु,” भट्टले भन्नुभयो । 

दुवै हातका नाडीसम्म मात्र भएका उहाँ लेख्ने, कम्प्युटर चलाउने, दाह्री काट्नेलगायतका काम सजिलै गर्नुहुन्छ । शारीरिक अशक्तता उहाँको दैनिक र वैवाहिक जीवनका लागि बाधा बनेको छैन । धेरै जसो काम आफूले अरू जस्तै गर्ने गरेको भट्टले सुनाउनुभयो । उहाँले भन्नुभयो, “मैले सरकारी जागिरका लागि पनि कोसिस गरेँ । तर लिखितमा नाम निकाले पनि हामी जस्ता अति अशक्तलाई अवसर दिइँदैन । अन्तर्वार्ताबाट फाल्ने गरिन्छ ।”

हाल एलएलबीसमेत अध्ययन गरिरहनुभएका भट्टलाई यहाँसम्म पुग्न सहज भने थिएन । जन्मिँदै समाजले स्वीकार्न सकेको थिएन । उच्च शिक्षा अध्ययनका क्रममा पनि उहाँले त्यस्तै दुःखको सामना गर्नुप¥यो ।  क्याम्पस अध्ययन गर्न धनगढी आउँदा कसैले कोठा दिन मानेका थिएनन् । बल्ल एक आफन्तको घरमा कोठा त पाउनुभयो तर यहाँका कलेजहरूले फरक क्षमताका विद्यार्थी भनेर साधारण विधिबाट पढाउन नसक्ने भन्दै भर्ना लिन मानेनन् । धेरै कोसिसपछि समाजसेवी महेन्द्रा चन्दको पहलमा कैलाली बहुमुखी क्याम्पसमा भर्ना भएर उच्च शिक्षा अध्ययन गर्ने सपना पूरा गरेको भट्ट बताउनुहुन्छ ।  

उहाँले भन्नुभयो, “त्यति बेला महिन्द्रा चन्दका श्रीमान् एवं पत्रकार घनबहादुर शाह सोही क्याम्पसको सञ्चालक समिति सदस्य भएकाले सहज भयो । मेरो विद्यालय शिक्षा र उच्च शिक्षाका लागि महेन्द्रा चन्दले कहिल्यै नबिर्सिने गुन लगाउनुभएको छ ।”