• १३ साउन २०८१, आइतबार

हिलिहाङ पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका

blog

हिलिहाङलाई कोशी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिँदै । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल

फिदिम, फागुन २१ गते । पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै दोस्रो पूर्ण खोप सुनिश्चित गाउँ बनेको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य सङ्घटनले तोकेका सबै खोपको मात्रा पुरा गर्दै यो गाउँपालिका घोषणा गरिएको हो ।

प्रदेश भरका गाउँपालिहरुतर्फ भने पूर्ण खोप सुनिश्चित गर्ने हिलिहाङ जिल्लासँगै प्रदेशकै पहिलो हो । गत शनिबार ताप्लेजुङको फुङलिङ नगरपालिका मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पुरा गर्दै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको थियो ।

प्रदेश भरका एक सय ३७ स्थानीय तहमध्ये नगरपालिकातर्फ फुङलिङ र गाउँपालिकातर्फ हिलिहाङ पहिलो भएको जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो । हिलिहाङकास्थित सबै वडामा रहेका १५ देखि ५९ महिना उमेरका बालबालिकालाई खोपको मात्रा पुरा गर्दै आइतबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिका स्तरीय खोप समन्वय समितिको सर्वेक्षण र प्रतिवेदन सदर गर्दै जिल्ला खोप समन्वय समितिले आइतबार हिलिहाङ गाउँपालिलाई पूर्ण खोप सुनिश्चित सहितको गाउँपालिका घोषणा गर्दै प्रमाण पत्र प्रदान गरेको हो । खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वे र सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्वापोले गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीलाई प्रमाण पत्र दिँदै हिलिहाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुभएको थियो ।

गाउँपालिकाको तथ्याङ्क अनुसार यहाँ १६ देखि ५९ महिना उमेर समूहका बालबालिकाको सङ्ख्या ७ सय ३६ छ । ती सबैलाई खोपको सबै मात्रा दिइएको छ भने जन्मेदेखि १५ महिना उमेर समूहका बालबालिकाले पनि मापदण्ड अनुसारका खोप लगाएको हिलिहाङका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले बताउनुहुन्छ । 

घोषणा कार्यक्रममा पालिका जिसस प्रमुख आङदेम्वे र जिल्ला जनस्वास्थ्य प्रमुख आङदेम्बेसँगै पालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाँई, विश्व स्वास्थ्य सङ्घटनका प्रतिनिधि अर्पण डिसी, वडाध्यक्षहरू, कार्यपालिका सदस्य र निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारी लगायत उपस्थिति थियो ।