• १६ भदौ २०८१, आइतबार

सात करोड ठगी अभियोगमा विन्दवासिनी सहकारीका अध्यक्षसहित तीन पक्राउ

blog

विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब सात करोड ठगी गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेका तीन जना । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन २१ गते । पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब सात करोड ठगी गरेको अभियोगमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । ठगीमा सम्बद्ध थप व्यक्तिहरुविरुद्ध सोमबार पक्राउ पुर्जी जारी हुने र कारबाही अघि बढ्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

“हिजो साँझ ६ः३० बजे आंशिक कारबाहीका प्रतिवेदन हामीकहाँ आयो, त्यसको आधा घण्टामै मुख्य तीन जनालाई नियन्त्रणमा लिएका हौँ,” प्रमुख थापा भन्नुहुन्छ, “आज अदालतको पक्राउ पुर्जी लिएर अरूलाई पनि नियन्त्रणमा लिन्छौँ ।”

सहकारीका सचिव गङ्गाधर सुवेदी भने १५ दिनअघिबाटै सम्पर्क निगरानीमा रहे पनि फरार भएको उहाँले जानकारी दिनुभयो ।

विन्ध्यवासिनी सहकारीको सात करोडभन्दा बढी रकम हिनामिना भएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्रतिवेदनले औँल्याएको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल हुनुहुन्छ । पौड्याल पोखरा–८ मा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रालिका अध्यक्ष हुनुहुन्छ ।

सहकारीको रकम हिनामिना भएपछि छानबिन माग गर्दै बचतकर्ताहरूले सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै सात करोड रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ ।

अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर कार्यसमितिका अरूको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले औँल्याएको छ । पोखरा २९ मा सहकारीको नाममा रहेको तीन रोपनी जग्गा किर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरूमाथि अभियोग छ ।

सो जग्गा तीन करोड ५९ लाख ९० हजारमा बिक्री भएको बताइन्छ । किर्ते गरी बेचिएको जग्गा आठ दिन भित्रमा फिर्ता गर्ने भनी अध्यक्ष नकर्मी र सचिव सुवेदीले गएको पुस २६ गते कागज गरे पनि जग्गा फिर्ता नभएपछि बचतकर्ताहरूले उजुरी दिनुभएको थियो । 

अध्यक्ष नकर्मी र सचिव गङ्गाधर सुवेदीले उदीपसन्दिप पौडेल र रेजिना विष्टलाई सहकारीको जमिन बेच्नुभएको थियो । सहकारीको सञ्चालक समितिका अध्यक्षमा सुवर्णमान नकर्मी, उपाध्यक्ष पार्वती बराल कटुवाल, सचिव गंगाधर सुवेदी, कोषाध्यक्ष बिपना मल्ल र सहसचिवमा ख्यामनाथ अधिकारी हुनुहुन्छ । सदस्यमा केशवराज भण्डारी, कृष्णमान श्रेष्ठ, विनोद थकाली र अन्जु अधिकारी हुनुहुन्छ ।