• १५ वैशाख २०८१, शनिबार

‘अकथ्य’ सार्वजनिक

blog

काठमाडौँ, फागुन २० गते । रङ्गकर्मी प्रवीण खतिवडाले लेख्नुभएको ‘अकथ्य’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । परिचय पब्लिकेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक समीक्षक/लेखक सिके लाल, कलाकार सौगात मल्ल र लेखक सगुना शाहले संयुक्त रूपमा लोकार्पण गर्नुभएको छ । 

सो अवसरमा सिके लालले पुस्तकमाथि टिम्पणी गर्दै अकथ्य लेखक खतिवडाको पहिलो कृति भए पनि अझै पढूँ पढूँ लाग्ने पाठकलाई आकर्षित गर्ने कथाहरू रहेको बताउनुभयो । उहाँले नाटक, चलचित्रमा अभिनय र निर्देशनमा सक्रिय लेखक खतिवडाका यस कृतिमा समेटिएका नौ वटा कथाले विविध पाटोबारे चर्चा गर्दै खतिवडाले लेखनमा चालेको पाइलाको निरन्तरता दिन सुझाव पनि दिनुभयो । 

परिचय पब्लिकेसनका निर्देशक दीपेन्द्र भट्टले सो पब्लिकेसनबाट यसअघि बालसाहित्यका पुस्तक मात्र प्रकाशन गर्दै आएकामा ‘अकथ्य’ बाट अन्य विधा र सबै उमेर समूहका लागि हुने बौद्धिक खुराक पस्किने जमर्को गरेको बताउनुभयो । लेखक सगुना शाहले पुस्तक लोकार्पण समारोहमा सहभागी भएर कृतिबारे बोल्न नै आफूलाई धक लाग्ने बताउँदै पुस्तकमा रहेको कथा, कवितालगायतका विविध खुराकलाई पाठक/दर्शकलाई पस्किनुभन्दा किनेर पढ्नमा आफूलाई रुचि लाग्ने बताउनुभयो । उहाँले खतिवडाको यस कृति पढेर पाठकले ज्ञानको दायरा फराकिलो बनाउन सक्ने आशा व्यक्त गर्दै आफू शिक्षिका भएकाले विविध विधाका पुस्तक पढ्न निकै रुचि लाग्ने बताउनुभयो । 

सो अवसरमा कलाकार सौगात मल्लले अभिनयको मञ्चमा सँगसँगै अभिनय गर्ने अवसरका कारण लेखक खतिवडालाई नजिकबाट चिनेको र आज पहिलो कृतिमार्फत लेखनको दुनियाँमा पनि पाइला अगाडि बढाएकामा शुभकामना दिनुभयो । उहाँले आफूलाई बेला बेलामा लेखनमा जोडिन आग्रह त आउँछन् तर लेख्न सकिएको छैन भन्दै आफ्नो अग्रज खतिवडाको कृति पढेर मात्र प्रतिक्रिया दिने बताउनुभयो ।