• १६ वैशाख २०८१, आइतबार

सगरमाथा आरोहीलाई विद्युतीय चिप्स

blog

काठमाडौँ, फागुन २० गते । सरकारले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने आरोहीले लगाउने विशेष पोसाक (ज्याकेट) मा विद्युतीय चिप्स जडान गर्ने भएको हो । 

विभागका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न जाने आरोही समस्यामा पर्दा आपत्कालीन उद्धार र खोजी कार्यमा सहयोग पु¥याउन प्रविधि जडान गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आरोही दुर्घटनामा पर्ने, हराउने, लेक लागेर बिरामी हुने जस्ता समस्यालाई दृष्टिगत गर्दै विभागले सबै आरोहीको पोसाकमा चिप्स जडान गर्ने तयारी गरेको हो । यसले हराएका आरोहीको ठेगानालगायतका अवस्था पत्ता लगाउन सहयोग पुग्ने छ ।”

उहाँले पोसाकमा चिप्स जडान गरिएका आरोही हिमपहिरोमा पुरिएको अवस्थामा पनि डिटेक्टरको मद्दतले उद्धार तथा खोजी कार्यमा सहयोग पुग्ने बताउनुभयो । मानव जीवनको रक्षाका लागि उपयोगी मानिएको विद्युतीय चिप्स प्रयोग गर्ने सन्दर्भमा विभागले सरोकारवाला निकायसँग आरोहणसँगै हिमालको व्यवस्थापन र त्यसको सुरक्षाबारे छलफल गरेको छ । 

उहाँले विश्वका अन्य मुलुकमा पनि यस्ता अभ्यास रहेको बताउँदै चिप्स जडानले आरोहीलाई सुरक्षित बनाउने जानकारी दिनुभयो । आरोहीले एजेन्सीले प्रदान गरेको चिप्स प्रयोग गरे नगरेको बारे सगरमाथा आधार शिविरमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले निगरानी राख्ने छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा परीक्षण गरी गुणस्तरयुक्त यस्ता चिप्सको मूल्य १५ देखि २० अमेरिकी डलर पर्ने र त्यसको लागत आरोहणमा संलग्न एजेन्सीले बेहोर्ने गरी कार्यविधि बनाउन लागिएको छ ।

हाल आरोहीले प्रयोग गर्दै आएका मोबाइल वा जिपिएस उपकरणको ब्याट्री आरोही आधार शिविर फर्कंदासम्म नटिक्ने, नेटवर्कलगायतका समस्या देखिने गरेको छ । उहाँले उच्च हिमाली भेगमा यात्रा गर्ने आरोही, नेपाली पथप्रदर्शक र व्यक्तिगत आरोहण तथा पदयात्रामा जानेका लागि पनि यो प्रणाली लाभदायी हुने बताउनुभयो ।

हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर बर्सेनि पर्वतारोही, पथप्रदर्शक र भरियाले ज्यान गुमाउँदै आएका छन् । विसं २०७१ वैशाख ५ गते सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा परी १६ जना नेपाली शेर्पा गाइडको मृत्यु भएको थियो । हिमाल आरोहणको सुरुवातमै भएको उक्त घटनाका कारण त्यो वर्षको सगरमाथा आरोहण स्थगित गरिएको थियो । विज्ञहरूका अनुसार सगरमाथा आरोहण गर्ने क्रममा ज्यान गुमाउनेमा बढी जसो हिमपहिरोमै हराउने गरेका छन् । 

हिमपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति सगरमाथा क्षेत्रमा हुने गरेको छ । सन् १९२२ देखि २०२० सम्मको अवधिमा सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा २२० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।