• १६ वैशाख २०८१, आइतबार

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी

blog

नेदरल्यान्ड्सको विकेट लिएपछि नेपाली खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन १९ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जितका लागि एक सय २१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जितसँगै नेपालले फाइनल पुगेको छ । नेपाल पोजेटिभ रन रेटका आधारमा फाइनलमा पुगेको हो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाउनुभयो । गुलशन झाले ३८ र ओपनर कुशल भुर्तेलले १२ र आशिफ शेखले आठ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले अविजित चार र कुशल मल्लले अविजित दुई रन बनाउनुभयो । 


बलिङमा नेदरल्यान्ड्सका भिभियन किङ्माले तीन विकेट लिनुभयो । आर्यन दत्तले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले सर्वाधिक ३१ रन बनाउनुभयो ।

यस्तै टिम भानले २४, रोयलफ भानले २३ र कप्तान स्कट इडवार्डले १८ रन बनाउनुभयो । बलिङमा नेपालका प्रतिश जिसीले तीन विकेट लिनुभयो । करण केसी र कुशल मल्लले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । 


नेपालको यो सिरिजमा दोस्रो जित हो । नेपालले शुक्रबार नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

लगातार दोस्रो जितसँगै चार खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ । तेस्रो स्थानमा रहेको नामिबियाको तीन खेलबाट दुई अङ्क छ । आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।