• १२ साउन २०८१, शनिबार

तेस्रो युवा सम्मेलन २० गतेदेखि

blog

पत्रकार सम्मेलनमा कार्यक्रमबारेमा जानकारी दिंदै आयोजक । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन १९ गते । नेपाल युवा परिषद् लुम्बिनी प्रदेशको तेस्रो युवा सम्मेलनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुहुने भएको छ । कार्यक्रम बारेमा शनिवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले सो कुराको जानकारी गराएको हो ।

नेपाल युवा परिषद् लुम्बिनी प्रदेशको तेस्रो युवा सम्मेलनलाई आइतबार एक कार्यक्रमबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुहुने नेपाल युवा परिषद् लुम्बिनीका संयोजक सोम गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार फागुन २०, २१ र २२ गते तीन दिनसम्म बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टेमा सो सम्मेलन सञ्चालन हुनेछ ।

तीन दिनसम्म चल्ने सो युवा सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट ‘कोही पनि पछाडि नपरुन्’ भनाइलाई सुनिश्चित गर्न दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसङ्ख्यक, सीमान्तकृत समूह अपाङ्गता, मुस्लिम, पिछडिएको वर्ग लगायत उत्पीडित र पिछडिएका क्षेत्रहरू र आर्थिक रूपमा विपन्न समुदायलाई थप समावेशी बनाउने उद्देश्यले करिब २ सय ५ जना युवाहरू सम्मेलनमा सहभागी हुने संयोजक गुरुङले जानकारी गराउनुभयो ।

गुरुङका अनुसार प्रदेश युवा सम्मेलन २०२४ मा विभिन्न विज्ञहरूद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत, प्यानल छलफल, सफलताका कथाहरू, युवा सांस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना प्रस्तुत गरिनेछ । 

सहभागी हुन आउने सम्पूर्ण युवाहरूले आफ्नो कला संस्कृति झल्कने भेषभुषा, स्थानीय स्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बिउबिजनसमेत लिई प्रदेश युवा सम्मेलनमा सहभागी हुनेछन् । जसले युवालाई कलासंस्कृतिको जगेर्ना गर्ने अभियानमा मद्दत पुग्ने र उनीहरूको सहभागिताले थप सहयोग पुग्नेछ ।

कार्यक्रमका सहआयोजक होमस्टे महासङ्घ नेपालका महासचिव कृष्ण चौधरीले सम्मेलनले ‘दिगो विकास लक्ष्य’ का लागि युवा उद्यमशीलताको सिर्जना सम्भावना र रचनात्मकताको प्रवर्धन, प्रभावकारी शासनका लागि युवा सशक्तीकरण, जलवायु कार्यमा युवा संलग्नता, दिगो भविष्यका लागि पहल, वन्यजन्तु संरक्षणमा डिजिटल आविष्कार अन्वेषण, दिगो पर्यटन पहल प्रवर्धनमा युवा नेतृत्वलगायतका विषयगत क्षेत्र समेट्नेछ ।

सम्मेलनमा जीवन्त युवा सांस्कृतिक साँझ, रैथाने एवं परम्परागत खाना परिकारको प्रदर्शनी, रैथाने खाद्यान्नको बिउबिजन प्रदर्शन, १० भन्दाबढी अन्तरक्रियात्मक सत्रहरू, प्रादेशिक कार्य योजना प्रस्तुति तथा जिन बैङ्क अवलोकन तथा अध्ययन गरिनेछ ।

सम्मेलनमा जेडएक्सेल, क्रेयसन नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल, होमस्टे महासङ्घ नेपाल, समृद्धिका लागि पर्यटन, कोकाकोला नेपाल, बास नेपाल, खल्ती, नेपाल पर्यटन वोर्डजस्ता दर्जनौँ सङ्घ संस्थाको एक्येबद्धता रहेको नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमको अन्तिम दिन लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश (सिके) गुप्ताले सम्मेलनको समापन गर्ने कार्यक्रम छ । सम्मेलनमा बैजनाथ गाउँपालिका अध्यक्ष, कोहलपुर नगरपालिकाका प्रमुख, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष, राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) का प्रमुख डा. बालकृष्ण जोशी, रैथाने अभियन्ता तिलक ढकाल र नेपाल पर्यटन बोर्ड पूर्व कार्यकारी सदस्य कृष्णकुमार अर्याल लगायतको उपस्थिति रहनेछ ।