• ११ पुस २०८१, बिहिबार

जाजरकोट भूकम्प: रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता

blog

त्रिवेणी (रुकुमपश्चिम), फागुन १९ गते । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् । 

अस्थायी आवास निर्माण गर्न जिल्लाका छवटै पालिकाका ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार छ सय ६० लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार आठ सय चार, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार सात सय ४७, चौरजहारी नगरपालिकामा छ हजार दुई सय ६९ र बाँफीकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीेले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

सहायक प्रजिअ बढुवालले छवटै स्थानीय तहमा हालसम्म २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रकम लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय तह विपद जोखिम न्यूनीकरण कोषमा ७९ करोड ९० लाख ५० हजार पठाएको छ । 

जिल्लामा हालसम्म २८ हजार तीन सय ३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्भने तीन हजार चार सय ४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो । अब जिल्लामा पहिचान भएका एक हजार एक सय ३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस