• १२ साउन २०८१, शनिबार

बेवारिसे मोटरसाइकलको हकदाबी गर्न ताकेता

blog

प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलन । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, फागुन १९ गते ।
 जिल्ला प्रहरी कार्यालय हुम्लाले विभिन्न मिति र स्थानबाट बरामद गरेको बेवारिसे मोटरसाइकलहरूको हकदाबी गर्न ताकेता गरेको छ । पहिलो पटक सूचना जारी गरेर प्रहरीले बेवारिसे मोटरसाइकलहरूको हकदाबी गर्न आह्वान गरेको थियो । तर कोही पनि हकदाबी गर्न नआएपछि पुनः अर्को सूचना जारी गरेर ताकेता गरेको हो  ।

प्रहरी निरीक्षक नरेन्द्र चन्दले पहिलो पटक बेवारिसे मोटरसाइलकहरुको हकदाबीका लागि कार्यालयबाट १५ दिने सूचना जारी हुँदा एक जना बाहेक अन्य कोही नआएपछि पुनः अर्को सूचना जारी गरेको बताउनुभयो । प्रहरीले पहिलो पटक माघ २९ गते १५ दिने सूचना जारी गरेको थियो ।

प्रहरी निरीक्षक चन्दले सो अवधिमा एक जना बाहेक कोही पनि दाबी पेस गर्न नआएपछि पुनः दोस्रो पटक सात दिने सूचना जारी गरिएको जानकारी दिनुभयो । प्रहरीले २०७९ चैत ११ देखि २०८० मङ्सिर ३ गतेसम्म जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

उहाँका अनुसार लाइसेन्स र नम्बर प्लेट नभएको मोटरसाइकल ११ थान रहेका छन् । ती बेवारिसे मोटरसाइकल सर्केगार्ड प्रहरी चौकी अस्थायी प्रहरी चौकी बालुकुना तुम्चमा प्रहरीले राख्दै आएको छ 

दोस्रो सूचना अवधिमा पनि कोही हकदाबी गर्न नआएमा प्रहरीले नियमानुसार लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाउने भएको छ ।