• १२ साउन २०८१, शनिबार

राष्ट्रिय बाल नाटक मेला सुरु

blog

काठमाडौँ, फागुन १९ गते । राष्ट्रिय बाल नाटक मेला–२०८० शुक्रबार सुरु भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो । 

मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले देशभर विद्यालयमा खुला आह्वान गरी नाटक माग गरेका हौँ । उपलब्ध नाटकमध्ये उत्कृष्ट ११ नाटक अन्तिमका लागि छनोट गरेका छौँ ।”

मेलामा छनोट भएका कक्षा ८ देखिमाथि विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले गर्ने नाटकको समयावधि बढीमा ३० देखि ३५ मिनेटको रहेको छ । राष्ट्रिय बाल नाटक मेलामा प्रतियोगिताको विजेता नाटकलाई एक लाख रुपियाँ ट्रफी तथा  अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि अवसर प्रदान  गरिने भएको छ । सो नाटक मेला जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा प्रदर्शन भइरहेको छ ।