• १४ मंसिर २०८१, शुक्रबार

करेन्ट लागेर एक जनाको मृत्यु

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन १७ गते । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा रहेको टुण्डी हाइड्रो पावरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । टुण्डी हाइड्रोको कन्सट्रक्सनको काम गर्ने क्रममा रामेछाप कन्ट्रक्सनका मजदुर सल्यान बागचौर नगरपालिका-८ का ३२ वर्षीय कमल योगीको मृत्यु भएको हो । 

चिमखोलास्थित टुण्डी हाइड्रो पावरको विद्युत् निर्माणको काम भइरहेको ठाउँमा योगीलाई एक्कासि करेन्ट लागेको थियाे । उहाँलाई जोगाउने प्रयास गर्दा रामेछाप जिल्लाको लिखातामा गाउँपालिका–६ का २४ वर्षीय प्रवीण थापालाई समेत करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिनुभयो । 

बुधबार बेलुका करेन्ट लागेपछि दुबै जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएकोमा अस्पतालका डाक्टरले योगीलाई मृत घोषणा गरेको सूचना अधिकारी झाले जानकारी दिनुभयो । एक जनाको भने अहिले बेनी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।