• १२ साउन २०८१, शनिबार

नियमावली मस्यौदामाथि प्रदेशसभा सदस्यको सुझाव

blog

प्रदेशसभाको बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरु । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १६ गते । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा नियमावली २०८० को मस्यौदामाथि छलफल सुरु गरिएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा नियमावली २०८० को मस्यौदामाथि छलफल सुरु गरिएको हो ।

छलफलमा भाग लिनुहुँदै प्रदेश सभा सदस्य ओमविक्रम भाटले यसअघिको नियमावलीमा देखिएको समस्या समाधानका लागि अहिले संशोधन नियमावली आएको बताउनुभयो । अब बन्ने नियमावलीले संसदीय समितिहरू र सदनलाई अझ प्रभावकारी बनाउने उहाँको भनाइ छ । 

यस्तै, प्रदेश सभा सदस्य तुलसी देवकोटाले प्रदेश सभाको कामकारबाही अझ प्रभावकारी हुनुपर्ने व्यवस्था नियमावलीमा राख्न सुझाव दिनुभयो । बनेको नियमावलीको अक्षरशः पालना हुनुपर्ने उहाँले जोड दिनुभयो । 

अर्का प्रदेश सभा सदस्य वीरबहादुर थापाले नियमावली संशोधन गरेर मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो । सदनमा ऐन, नियमको संशोधन सुखी प्रदेशवासी र समृद्ध प्रदेशका लागि हुनु पर्ने उल्लेख गर्नुभयो । 

छलफलको क्रममा उठेका विषयमा जवाफ दिनुहुँदै समितिका सभापति विक्रमसिंह धामीले नयाँ नियमावलीमा संसदीय समितिलाई थप शक्तिशाली र सभामुखलाई बढी जिम्मेवार बनाउने व्यवस्था हुन लागेको बताउनुभयो । 

समितिले माग गरेका विषयवस्तुमा मन्त्रालयले वास्ता नगर्ने, मन्त्रीहरूले समितिमा आएर जवाफ नदिनेजस्ता कमीकमजोरी देखिएकाले संसदीय समितिलाई शक्तिशाली बनाउँदै मन्त्रीहरूले अनिवार्य रूपमा समितिमा उपस्थित भएर जवाफ दिने व्यवस्था गरेको धामीले बताउनुभयो । 

अहिलेसम्म रेफ्रीकोजस्तो मात्र भूमिका निर्वाह गरिरहेको सभामुखलाई थप जिम्मेवार बनाउने व्यवस्था पनि मस्यौदा नियमावलीमा भएको उहाँको भनाइ छ । यसैबिच, सुदूरपश्चिम प्रदेशको निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभामा टेबुल भएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेशको निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल गर्नुभयो ।   यसैगरी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संशोधनको सूचनासहित दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । 

सामाजिक विकासमन्त्री झपट साउँदको प्रस्तावमा सो विधेयकलाई समितिमा पठाइएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनको सूचना दर्ता भएको सभामुख भीमबहादुर भण्डारीले सदनलाई जानकारी गराउनुभयो । 

सो संशोधन विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता राजेन्द्रसिंह रावलले संशोधनको सूचना दर्ता गराउनुभयो । आज बसेको प्रदेश सभाको बैठकमा सत्तापक्षका प्रदेश सभा सदस्यको उपस्थिति कम रहेको थियो ।