• १९ वैशाख २०८२, शुक्रबार

माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति

blog

माओवादी केन्द्र स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उपमहासचिव जनार्दन शर्मा । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन १६ गते । नेकपा (माओवादी केन्द्र) ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गर्नुभएको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको थियो । सो बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राख्नुभएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पार्टीको निर्णयमा आफूले असहमति दर्ज गरेको जानकारी दिनुभयो । कार्यविभाजन पार्टी निर्माण गर्ने उद्देश्यसहित नभएको उहाँको भनाइ छ । उपमहासचिव शर्माले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहिन बनाइएकोमा असहमति रहेको बताउनुभयो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रुपमा नटुङ्ग्याएको प्रति पनि आफ्नो असहमति रहेको उहाँले उल्लेख गर्नुभयो ।

‘‘मैले आफ्नो तर्फबाट निर्णयहरुमा केही असहमतिहरु दर्ज गरेको छु । विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो कार्यविभाजन सही भएन । पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो ।,’’ उपमहासचिव शर्माले भन्नुभयो,  ‘‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने म लगायतलाई जिम्मेवारीविहीन बनाइएको अवस्थालाई र सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएका लगायतका मुद्दाहरु, त्यहाँको दलसँग सम्बन्धित विवादलाई टुङ्ग्याउने कुरामा सन्तुलित नभएको, न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति राखेको कुरा म जानकारी गराउन चाहन्छु ।’’

उहाँले आफ्नो असहमतिका बुँदाहरु स्थायी कमिटी सदस्यहरुलाई बाँडिदिएको बताउनुभयो । उहाँले आफ्नो असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा असहमति राख्न पाइन्छ भनेर सकारात्मक रुपमा लिएको पनि बताउनुभयो ।