बाकु, असार २५ गते । अमेरिकाले छिटो सम्झौता हुने आशा व्यक्त गरेको दुई दिनपछि अर्मेनिया र अजरबैजानका नेताबिच बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) मा शान्ति वार्ताका लागि भेटवार्ता हुने भएको छ । बाकु र येरेभानले विवादित काराबाख क्षेत्रमा दुई युद्ध लडेका थिए, जसलाई अजरबैजानले सन् २०२३ मा अर्मेनियाली सेनाबाट पुनः कब्जा गरेको थियो ।
दुई कट्टर दुश्मनले मार्चमा एक बृहत् शान्ति सम्झौताको लागि तयार प्रस्तावमा उनीहरूले सहमति जनाएका थिए तर बाकुले दस्तावेजमा हस्ताक्षर गर्नुअघि काराबाखको आफ्नो क्षेत्रीय दावीहरू रद्द गर्नुपर्ने र यसका लागि अर्मेनियाको संविधानमा संशोधनसहित धेरै मांगहरूको रूपरेखा प्रस्तुत गरेको थियो ।
अर्मेनियाली सरकारले बुधबार प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभबीच संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा भेटवार्ता हुने बताएको छ । अजरबैजानका राष्ट्रपतिले पनि यस्तै वक्तव्य जारी गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ककासस क्षेत्रका दुई छिमेकीबिच छिटो शान्ति सम्झौता हुने आशा व्यक्त गरेको एक दिनपछि यो घोषणा आएको हो ।
अलियेभ र पाशिन्यानबिच पछिल्लो पटक गत मे महिनामा अल्बानियामा भएको युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलनका क्रममा भेट भएको थियो । त्यति बेला फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले अर्मेनिया र अजरबैजानबिच भएको शान्ति सम्झौतामा तत्काल हस्ताक्षर गर्न आग्रह गरेका थिए । रासस/एएफपी