• १६ वैशाख २०८१, आइतबार

प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, फागुन १५ गते । राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खुला कोटाअन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि तीनवर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादवविरुद्ध एक लाख ३० हजार ८४३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सो समयमा तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालय समेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपियाँ भुक्तानी दिएको आरोप लागेको छ ।

यस्तै, भोली यादव प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव मिति २०७७ साल माघदेखि २०७८ साल कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराइ ३३ हजार ६१८ रुपियाँ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, वीरेन्द्र प्रसाद यादव प्रधानाध्यापकको पदमा रहँदा २०७८ मङ्सिरदेखि फागुनसम्मको २२ दिन फर्जी हाजिरी गराएको र मङ्सिरमा गयल रहेको अवधि दश दिनको गरी ३२ हजार ३२४ रुपियाँ शिक्षक बालेश्वरलाई गैरकानुनी लाभ दिलाइ भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

तत्कालीन प्रधानाध्यापक भोली यादवलाई ३३ हजार ६१८ रुपियाँ र तत्कालीन प्रधानाध्यापक वीरेन्द्र प्रसाद यादवविरुद्ध ३२ हजार ३२४ रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कैद तथा जरिवाना हुन मागदाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।