• ६ जेठ २०८१, आइतबार

भरतपुर भ्रमण वर्ष २०२४ हुने

blog

पत्रकार सम्मेलमा भरतपुर महानगरकी प्रमुख रेनु दाहाल लगायतका सहभागी ।

वसन्त पराजुली

भरतपुर फागुन १५ गते । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेभएको छ भने उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरूलाई सहभागी गराउने तयारी भइरहेको छ । 

भरतपुर महानगरकी प्रमुख रेणु दाहालले महानगरले सबै पूर्व प्रधानमन्त्रीहरूलाई निमन्त्रणा पठाएको र अधिकांश सहभागी हुने जनाउनुभएको बताउनुभयो । फागुन १८ गते आयोजना हुन लागेको भरतपुर पर्यटन वर्ष २०२४ को उद्घाटन समारोहको तयारीका सम्बन्धमा जानकारी दिने उद्देश्यले मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन सबैमा आग्रह गर्नुभयो । 

“प्रधानमन्त्री ज्यूले उद्घाटन गर्नुहुने यो कार्यक्रममा पूर्व प्रधानमन्त्री, सङ्घीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, सङ्घ तथा प्रदेश सांसदहरू लगायत तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ”, पत्रकार सम्मेलनमा प्रमुख दाहालले भन्नुभयो । 

उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुने कार्यक्रम तय भएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले जनाउनुभयो । 

भ्रमण वर्ष उद्घाटन समारोहमा करिब ५० हजार जनसहभागिता गराउने तयारी महानगरले गरिरहेको छ । यसका लागि महानगरभित्र रहेका २९ वटै वडाबाट बाजागाजा सहितका झाकीहरु सहितको र्‍याली निकाल्ने तयारी महानगरले गरी रहेको छ । सो अवसरमा राष्ट्रिय कालकारहरूको प्रस्तुति समेत रहने बताइएको छ । 

भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेणु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरू गठन गरी भ्रमण वर्षको तयारी गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

महानगरभित्र रहेका पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको सङ्ख्या र बसाइँ अवधि वृद्धिगर्दै  दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि गराउने उद्देश्यले पर्यटन वर्ष मनाउन लागिएको हो । प्रमुख दाहालले पर्यटन वर्षले आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको बताउनुभयो । 

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाइमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन् । 

भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य महानगरले लिएको छ । भ्रमण वर्षमा घुम्न आउने पर्यटकका लागि भरतपुर सहित सौराहा र गैँडाकोटमा रहेका होटलहरुमा १५ हजार बेड व्यवस्था भएको महानगरका प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।