• १६ वैशाख २०८१, आइतबार

मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

blog

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, फागुन १४ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताउनुभएको हो ।

उहाँले तत्कालीन आयोगमा आएका उजुरीहरूलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपिल गर्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइराखेको छ । तर के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठुलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ । त्यसको निम्ति अहिले हामीसँग कानुन छ । बाँकी रहेका सबै उजुरीहरूलाई हामीले सरकारको मन्त्रिपरिषदबाट निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ ।’’

प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ । त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उहाँले बताउनुभयो । उहाँले पीडितलाई हर हालतमा न्याय दिने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘जिल्ला प्रहरी कार्यालयले अब स्वैच्छिक मेलमिलापको निम्ति अपिल गर्छ । पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ । त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ ।  यो प्रक्रियामा हामी छौँ । त्यसकारण पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौँ । म सबैलाई अपिल गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौँ । हर हालतमा पीडितलाई मुक्त गर्ने दिशातिर रहौँ । पीडितको नाममा खेल खेल्ने काम नगरौँ ।’’

उहाँले पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताउनु भयो । उहाँले पीडितको नाममा खेल नखेल्न आग्रह समेत गर्नुभयो ।