• १२ साउन २०८१, शनिबार

पति–पत्नीसहित चार लागूऔषध कारोबारी पक्राउ

blog

सिराज खान 

नेपालगन्ज, फागुन १४ गते । लागूऔषध सेवन र विक्रीविरुद्ध कडा रूपमा उत्रेको प्रहरीले बाँके र बर्दियाबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुईजना पति–पत्नी रहेको प्रहरीको भनाइ छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगन्ज उपमहानगरपालिका–१३ बाट १ ग्राम ८ मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित नेपालगन्ज उदयपुर बस्ने २० वर्षीय आकाश महरालाई प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले महरालाई सो पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका –११ लोकनगरस्थित चिया पसलका सञ्चालक बाजुरा हिमाली गाउँपालिका–४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दीपा शाहीलाई सातसय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सो पदार्थसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस्तै, बर्दिया, गुलरिया नगरपालिका–७ महाकबिटोल बस्ने २८ वर्षीय सानु खानलाई सातसय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–८ जुम्ली टोल बस्ने लोकेन्द्र कडाराको घरबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी शीतलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोबाइलसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।