• १२ साउन २०८१, शनिबार

दशकपछि जुम्ला–सुर्खेत उडान

blog

जुम्ला विमानस्थलमा नेपाल एयरलाईन्स । तस्बिर– नेत्र शाही

नेत्र शाही  

जुम्ला, फागुन १४ गते । नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ । सोमबार बिहान नेपालगन्जदेखि ७ : ५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई जना यात्रु लिएर सुर्खेतको उडान भरेको हो । 

नेपाल एयरलाइन्स जुम्लाका म्यानेजर देवीप्रसाद न्यौपानेले वर्षपछि सरकारी जहाजले जुम्ला–सुर्खेत उडान गरेको जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको जहाजले जुम्लाबाट सुर्खेत उडान भरेर मन्त्रीको टोली कालिकोटस्थित सुनथराली विमानस्थलमा पुगाएर सुर्खेत फर्किएपछि जुम्ला उडान गर्ने समय तालिका छ ।

त्यसपछि सुर्खेतदेखि जुम्ला हुँदै नेपालगञ्ज उडान भर्ने म्यानेजर न्यौपानेले जानकारी दिनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले नेपाल एयरलाइन्सको जहाजले जुम्ला–सुर्खेत भाडा ५ हजार ४० रुपियाँ निर्धारण गरेको जानकारी दिनुभयो । 

स्थानीय प्रशासनका अनुसार नेपाल एयरलाइन्सको नियमित उडान तालिका आइपुगेको छैन । नियमित गर्ने कि नगर्ने आगामी सोमबारको उडानले मात्र निश्चित गर्छ । अर्को सोमबारदेखि मात्र नियमित फ्लाइटको तालिका आउन सक्ने उहाँको भनाइ छ ।

जुम्ला–सुर्खेत हवाई उडान नहुँदा अहिले पनि लुम्बिनी प्रदेश पुगेर कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ । जुम्लामा नेपालगन्जबाट नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले उडान भरिरहेका छन् ।