• २३ वैशाख २०८१, आइतबार

फागुन २१ देखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

blog

काठमाडौं, फागुन १४ गते । आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गर्नुभएको थियो ।

लगत्तै सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी दिनुभयो ।

छलफल फागुन २१, २२, २३, ३० गते, चैत्र १, २ र ४ गते हुने उहाँले बताउनु भयो । उहाँले छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित दलका पदाधिकारीले आफ्ना सांसदहरूको नाम बैठक बस्नुभन्दा एक घण्टा अगाडि नै टिपाउन अनुरोध गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफलका लागि यही २०८० साल फागुन २१, २२, २३, ३० र चैत्र १, २ र ४ गतेका दिनहरू तोकिएको ब्यहोरा जानकारी गराउँछु । साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरूले आ–आफ्ना दलका माननीय सदस्यहरूको नाम बैठक बस्नुभन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा, प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’’

उहाँले छलफलका क्रममा सांसदहरूले उठाएका विषयवस्तुको टिपोटका लागि अर्थ मन्त्रालय र सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।