• १६ वैशाख २०८१, आइतबार

चिलिमे हब सबस्टेसन तयार

blog

काठमाडौँ, फागुन १४ गते । नेपाल–चीन विद्युत् सञ्जाल विस्तारका लागि महत्वपूर्ण मानिएको एक पूर्वाधार चिलिमे हब सबस्टेसन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङ्मो  गाउँपालिकास्थित थम्बुचेतमा २२०/१३२/३३ केभी क्षमताको चिलिमे हब सबस्टेसन निर्माण गरिएको हो । केरुङ नाकाबाट करिब १४ किलोमिटर दक्षिणमा पर्ने सो सबस्टेसनको यही शुक्रबारदेखि प्राविधिक परीक्षण गर्ने तयारी छ ।

बृहत् प्रसारण लाइन आयोजना (२२० केभी) का निर्देशक थर्कबहादुर थापाका अनुसार एक महिनाभित्र पूर्ण सूचारु गर्नेगरी तयारीका कम भइरहेको छ । 

थापाले मार्च १ देखि २५ सम्म सम्पूर्ण उपकरणको विस्तृत परीक्षण गरिने छ भने त्यसपछि केही दिन सबस्टेसन चार्ज गरेर हेरिने जानकारी दिनुभयो । “सबै उपकरण जडानको काम सम्पन्न भएका छन्, अब परीक्षणको तयारी गर्दै छौँ, ” उहाँले भन्नुभयो, “अप्रिल सुरुबाटै विद्युत् प्रणालीमा आबद्ध गरी सबस्टेसन सञ्चालनमा आउने छ ।” सो सबस्टेसन तयार हुनासाथ १११ मेगावाटको रसुवागढी, र १४.८ मेगावाटको अप्पर सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने छ । यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य लिएका लोअर सान्जेन (४२.५) मेगावाट र सानिमा ग्रुपले बनाइरहेका १४.३ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत् पनि विद्युत् आपूर्ति प्रणालीमा आबद्ध गरिन्छ । 

यही सबस्टेसनबाट चिलिमे–त्रिशूली थ्री बी हब २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन पनि तयार भइसकेको छ । त्रिशूली सबस्टेसनबाट मातातीर्थ सबस्टेसनमा विद्युत् आपूर्ति गरिन्छ । नेपाल विद्युत् प्राधिकरणले गत पुसमै यो सबस्टेसन तथा प्रसारण लाइन तयार गरिसक्ने तय गरेको थियो पछिल्ला दुई वर्षमा आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनिजले कार्यसम्पादनमा केही सुधार गरे पनि पुसभित्र भने निर्माण गर्न सकेन । चिलिमे–त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट बनाइएको छ । कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने व्यवस्था छ । 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङ्गाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैङ्क, युरोपेली लगानी बैङ्कको सहुलितपूर्ण ऋण रहेको छ । आयोजनाका लागि एक करोड १५ लाख युरो केएफ डब्लुको अनुदान प्राप्त भएको थियो । 

चिलिमे हब सबस्टेसनलाई चीनसँग विद्युत् आदानप्रदान गर्ने पूर्वाधारका रूपमा समेत विकास गरिएको छ । सो सबस्टेसनबाट केरुङ नाकासम्म २२० केभी प्रसारण लाइन निर्माण गर्न अहिले अध्ययन कार्य जारी छ । चिनियाँ सहयोगमै निर्माण गर्ने लक्ष्य राखिएको सो प्रसारण लाइनको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न हुने चरणमा रहेको प्राधिकरणले जनाएको छ ।