• ७ जेठ २०८१, सोमबार

संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न मिल्दैन : सांसद सापकोटा

blog

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा ।

काठमाडौं, फागुन १३ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संविधानको विरोध नगर्न चेतावनी दिनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद सापकोटाले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः संविधानकै विरोध गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न नमिल्ने बताउनु भयो । संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरू हुन नसक्ने उहाँको भनाइ छ ।

‘‘हामी सार्वभौम सत्ता सम्पन्न जनता भनेर लेखिएको छ । त्यसको तेस्रो प्यारामा सामन्ती निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरिएका सबै प्रकारका विभेद र उत्पीडन गर्दै भन्ने लेखिएको छ । त्यसपछि हाम्रो संविधानको धारा २ लाई एक पटक हेर्ने हो भने सार्वभौम सत्ता र राजकीय सत्ता भनिएको छ ।,’’ सांसद सापकोटाले भन्नुभयो, ‘‘नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानको व्यवस्थामा भए बमोजिम हुनेछ भन्ने छ । र यो संविधानमा व्यवस्था गरिएकै अनुसार हामी नेपालको सार्वभौम सम्पन्न अधिकार भएको संसदमा उपस्थित छु । तर बेलाबखत यो व्यवस्थाका बारेमा चाहिने भन्दा ज्यादा अनर्गल प्रचारबाजी गर्ने गरिएको छ ।’’

त्यस्तै, जलवायु परिवर्तन नेपालका लागि मात्रै नभएर विश्वका लागि नै चुनौती बनिरहेको उहाँको भनाइ छ । सापकोटाले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी राजनीतिक मुद्दा बनेको  बताउनुभयो ।