• ३१ वैशाख २०८२, बुधबार

उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै दल मिल्नुपर्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगन थापा । फाइल तस्बिर

काठमाडौं, फागुन १२ गते। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राजनीतिक दलले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताउनुभयो। उहाँले सबै राजनीतिक दल मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताउनुभयो। 

महामन्त्री थापाले राजनीतिक दल एकअर्काको आरोप प्रत्यारोपमा लाग्दा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताउनुभयो। उहाँले सबै राजनीतिक दल र नेताहरूले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्नु जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राजनीतिक दलहरूका साथीहरू एकै ठाउँमा छाैँ। हाम्रो सबै कुराको प्रहार अहिलेको हाम्रो उपलब्धिमाथि भइरहेको छ। यसलाई हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन। त्यसमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ। गर्नुपर्छ, हुनुपर्छ भन्नेकुरामा एक ठाउँमा भइसकेपछि कसरी ? भन्नेकुरामा छलफल गर्नुपर्छ। राजनीतिक पार्टी हुनुपर्छ ।’

महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताउनुभयो। सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिनु आवश्यक रहेको बताउनुभयो।