• १२ साउन २०८१, शनिबार

एमाले कैलाली अध्यक्षमा ढुङ्गाना विजयी

blog

अविनाश चौधरी

धनगढी, फागुन १२ गते । नेकपा (एमाले) कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी हुनु भएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेयलाई ६९ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको हो । 

विजयी ढुङ्गानाले २८७ र पराजित हुनु भएका पाण्डेयले २१८ मत प्राप्त गर्नु भएको छ । यसै गरी, अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत प्राप्त गरेर पराजित हुनु भएको छ । 

उपाध्यक्षमा पाण्डेय प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतान्तरले विजयी हुनु भएको छ । विजयी शाहीले १९३ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षकै उम्मेदवार विष्णु चौधरीले १०६, मदनराज ओझाले ३३ र गजेन्द्र स्वाँरले २७ मत प्राप्त गर्नुभयो । 

सचिवमा पाण्डेय प्यानलकै ममतप्रसाद चौधरी २४३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी ढुङ्गाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत प्राप्त गरेर पराजित हुनुभयो । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गर्नुभयो । 

उपसचिव (खुलातर्फ) ढुङ्गाना प्यानलका चूडामणि भट्ट २५१ पाएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत प्राप्त गर्नुभयो । यस्तै, उपसचिवकै उम्मेदवार नृप थ्यायत खड्काले ९५, राजु गुरुङले ७१ मत प्राप्त गर्नु भएको छ । 

उपसचिव (महिला) मा गङ्गाकुमारी चौधरी १९६ मत पाएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४, अम्बिका विष्टले ९० मत पाउनु भएको छ । 

एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि नवौँ अधिवेशन सुरु भएको छैटौँ दिनमा हिजो शुक्रवार निर्वाचन भएको थियो । निर्वाचनमा ५७७ मत खसेको थियो । सदस्यको मत गणना अझै बाँकी रहेको छ ।