• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड आज सर्लाही आउनुहुँदै

blog

जनार्जन खत्री 

सर्लाही, फागुन १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिवार) सर्लाही आउँदै हुनुहुन्छ । बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउन लाग्नुभएको हो । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो । 

नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत तीन हजार विद्यार्थी र करिब १५ हजार अभिभावकलाई सहभागी गराई आज एक दिनको शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बागमती नगरपालिकाले जनाएको छ । बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित महोत्सव बिहान ११ः३० बजे सुरु हुने र प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सम्बोधन गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो । 

नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुहुने प्रधानमन्त्री प्रचण्ड बागमतीस्थित सेनाको क्याम्पमा अवतरणपछि कार्यक्रम स्थलमा पुग्नुहुने छ । विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरूको विकासका लागि समाजको मौलिकता, संस्कार, संस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनाएको छ । 

महोत्सवमा तीन हजार विद्यार्थीले सातै प्रदेशको संस्कार, संस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् ।