• १२ साउन २०८१, शनिबार

अस्पतालको सेवाप्रति बिरामीको गुनासो

blog

तानसेन समाचारदाता

तानसेन, फागुन १२ गते । पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् ।  

अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले सास्ती बेहोर्नु परेको गुनासो बढेको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीले समयै ल्याब रिपोर्ट नपाउने, समयमै उपचार नपाउने तथा कर्मचारीबाट राम्रो व्यवहार पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालले दिने सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा कतिपय बिरामीले अनावश्यक झन्झट बेहोर्नु परेको छ । 

दिनहुँ अस्पतालमा आउने पाँच सय बिरामीमध्ये दुई सय बिरामीको उपचार अस्पतालले गरिरहेको छ । अन्य तीन सय बिरामी अन्य अस्पतालमा उपचार गर्न प्रेषणका लागि आउने गरेका छन् । पछिल्लो समय अस्पतालमा आउने बिरामीले समयमै उपचार नपाएको, टिकट लिन अप्ठेरो बनेको, ल्याब टेस्टका रिपोर्ट समयमै नपाएको गुनासो गर्दै आएका छन् । अस्पतालका कर्मचारीबाट बिरामीमैत्री व्यवहार पाउन नसकेको माथागढीस्थित सराईबाट उपचारका लागि आउनुभएका तिलकराम घिमिरेले गुनासो गर्नुभयो । अस्पतालमा निःशुल्क पाउने दिने औषधीसमेत आफूले नपाएको गुनासो उहाँको छ ।  

कतिपय बिरामी उपचार नपाएर फर्कन बाध्य छन् । उपचार हुन्छ भनेर बिहानदेखि बेलुकीसम्म कुराउने र बेलुकी भएपछि आज उपचार हुँदैन भनेर फर्काउने गरेको रैनादेवी छहरा–३, भुवनपोखरीका लीलाबहादुर दर्लामीले गुनासो गर्नुभयो । अस्पतालले बिरामीलाई बेलुकीसम्म राखेर 

उपचार नगर्दा ढाटाबाट उपचारका लागि आउने बिरामी सेवा नलिएर फर्कन बाध्य भएको उहाँले बताउनुभयो । 

अस्पतालले बिरामीलाई उपचार गर्न कति समय लाग्छ भनेर जानकारी नदिँदा हरेक दिन केही बिरामी उपचार नगरी घर फर्कन बाध्य भएका छन् । अस्पताल प्रशासनले भने अस्पतालको क्षमता, कर्मचारीको क्षमता अनुसार सेवा प्रदान गरेको जनाएको छ । अस्पतालकी नर्सिङ अधिकृत लक्ष्मी जिसीले हाल कार्यरत कर्मचारीको क्षमता अनुसार बिरामीलाई सेवा दिएको बताउनुभयो । कहिलेकाहीँ बिरामी घर जान हतार गर्दा पनि सेवामा असहजता उत्पन्न भएको हुन सक्ने उहाँले बताउनुभयो । 

अस्पतालमा पछिल्लो समय सिफारिस लिने र उपचार गर्ने बिरामीको चाप बढेका कारण बिरामीलाई असहज लागेको हुन सक्ने कर्मचारी बताउँछन् । अस्पतालमा धेरै बिरामी रिफरका लागि आउने गरेका छन् । ती बिरामीका लागि सिफारिस व्यवस्थापन गर्दा पनि अस्पतालको सेवा प्रभावकारी हुन नसकेको कतिपय स्वास्थ्यकर्मी बताउँछन् ।