• १२ साउन २०८१, शनिबार

पाथीभरा केबलकारमा सर्वपक्षीय सहमति आवश्यक

blog

नेकपाद्वारा आयोजित पत्रकार सम्मेलनमा धारणा सार्वजनिक गरिँदै । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ११ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पाथीभरामा केबलकार निर्माण गर्न सर्वपक्षीय सहमति आवश्यक हुने उल्लेख गरेको छ । नेकपा ताप्लेजुङले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै सर्वपक्षीय सहमति नगरी केबलकारको काम सुरु नगर्न पनि सुझाव दिएको छ । 

पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले निर्माण गर्न लागेको केबलकार परियोजनाको पक्ष र विपक्षमा चर्को मतभेद भइरहेका बेला नेकपाले आफ्नो धारण सार्वजनिक गरेको हो । पाथीभरा ताप्लेजुङबासीको धार्मिक, साँस्कृतिक र प्राकृतिक तथा आदिवासीहरुको ऐतिहासिक मुन्धुमी पहिचान बोकेको स्थल भएकोभन्दै परियोजनाको तीव्र विरोध हुँदै आएकाले विरोधी पक्षलाईसमेत सहमतिमा ल्याएर मात्र काम सुरु गर्न नेकपाले सुझाव दिएको छ ।

निर्माण पक्षले विरोध गर्दै आएकाहरुको मागलाई बेवास्ता गरी केबलकारको काम सुरु गरेमा समस्या अझ धेरै बढ्ने र मानवीय मुडभेट (भिडन्त) हुनसक्ने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने नेकपाले औंल्याएको छ । परियोजना कार्यान्वयनमा देखिएको समस्या र चुनौतीलाई दृष्टिगत गरी नेकपाले प्रेस विज्ञप्तिमार्फत तीन बुँदे आफ्नो धारणा सार्वजनिक गरेको हो । 

जिल्ला इन्चार्ज नरपती सी र सेक्रेटरी अविसेक सी द्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधान धारा ३२(३) मा भएको व्यवस्था र अन्तर्राष्ट्रिय महासन्धी आईएलओ १६९ मा उल्लेख भएको विषयलाई पालना गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै केबलकार परियोजनाविरुद्ध सर्बोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको किनारा नलागेसम्म र सर्वपक्षीय सहमति नजुटाई काम सुरु गर्न नहुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै केबलकार प्रालिले सुरुमा जग्गा खरिद गर्दा अस्वाभाविक मूल्याङ्कन गरी खरिद गरेको र शेयरधनीलाई ठग्ने प्रपञ्चसहित सरकारलाई राजस्व तिरेको पाइएकाले सो कारोबार खारेज हुनुपर्ने नेकपाले माग राखेको छ । सर्बपक्षीय सहमतिबिना केबलकारको काम सुरु नगर्न सुझाव दिएको नेकपाले आयोजनाबाट लाभान्वित हुने अग्राधिकार स्थानीयलाई हुनेभन्दै परियोजनामा ५१ प्रतिशत शेयर स्थानीयलाई सुनिश्चित गर्नुपर्ने पनि माग गरिएको छ ।