• १२ साउन २०८१, शनिबार

गोरखापत्रकर्मी कार्कीलाई शाइन आर्थिक पत्रकारिता पुरस्कार

blog

पुरस्कार ग्रहण गर्दै कार्की र गौतम । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन ११ गते ।
शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट  गोरखापत्रका लुम्बिनी प्रदेश संयोजक भुवन कार्की पुरस्कृत हुनुभएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले स्थापना गरेको सो पुरस्कारबाट कार्की र कान्तिपुरमा कार्यरत घनश्याम गौतम सम्मानित हुनुभएको हो ।

आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उहाँहरुलाई बैंकको १६ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो । कार्की र गौतमलाई जनही नगद २५ हजार एक रुपियाँ प्रदान गरिएको छ ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगाएतले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो । सो पुरस्कार वितरणका लागि पत्रकार माधव नेपालको संयोजकत्वमा तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको थियो ।

समितिको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सन्जय सौगात र शाइन बैंकको तर्फबाट लालमणि पौडेल रहनुभएको थियो । बैंकले वि.स. २०७८ सालदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा पाँच लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको थियो । यो पुरस्कार २०७८ मा यमलाल भुसाल र २०७९ मा माधव नेपालले पाइसक्नुभएको छ ।