• १२ साउन २०८१, शनिबार

कार्यसम्पादनमा हरिपूर्वा कमजोर

blog

जनार्जन खत्री
सर्लाही, फागुन ११ गते ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सर्लाहीको हरिपूर्वा नगरपालिकाले देशभरमै सबैभन्दा कम अङ्क प्राप्त गरेको छ ।

राजनीतिक दलदलमा फसेको यो नगरपालिका देशभरमा सबैभन्दा कम ५.९९ अङ्क प्राप्त गरेको हो । हरिपूर्वा नगरपालिकाले यो वर्ष चार दिनअघि फागुन ७ गते मात्रै तनावका बिच ११ औँ नगरसभा गरेर बजेट पारित गरेको थियो ।

असारमै ल्याउनपर्ने बजेट फागुनमा आएर बहुमतका आधारमा पारित भए पनि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीमा प्रमुख नहुँदा खाता सञ्चालन नभएर अझै बजेट चल्न सकेको छैन । गएको साउनदेखिको तलब भत्ता माग गर्दै हरिपूर्वा नगरपालिका मातहतका कर्मचारीहरु माघ २८ गतेदेखि कार्यालय बन्द गरेर र शिक्षकहरु फागुन ६ गतेदेखि समूर्ण सामुदायिक विद्यालय बन्द गरेर धर्नामा बसिरहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले असार १० भित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पारित गरे/नगरेको, कात्तिम मसान्तभित्र बजेटको वार्षिक समिक्षा गरे/नगरेको, अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको आय/व्ययको प्रक्षेपणसहितका अनुमानित बजेटको विवरण पुस मसान्तभित्र पठाए/नपठाएको लगायतलाई आधार मानेर कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ ।

कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीका २० पालिकामध्ये सबैभन्दा बढी ३६.१६ अङ्क ल्याइ ईश्वरपुर नगरपालिका जिल्लामा पहिलो भएको छ ।

३१.६४ अङ्कसहित चक्रघट्टा गाउँपालिका दोस्रो र ३०.५६ अङ्क प्राप्त गरी गोडैता नगरपालिका तेस्रो भएका छन् । यस्तै, लालबन्दी नगरपालिकाले २९.७५, बागमती नगरपालिकाले २८.४९, कौडेना गाउँपालिकाले २७.८७, ब्रह्मपुरी गाउँपालिकाले २५.०६, हरिवन नगरपालिकाले २४.७०, पर्सा गाउँपालिकाले २४.५२ र बसबरिया गाउँपालिकाले २४.०९ अङ्क प्राप्त गरेका छन् ।

यसैगरी, बलरा नगरपालिकाले २३.५७, बरहथवा नगरपालिकाले २३.२४, रामनगर गाउँपालिकाले २३.११, विष्णु गाउँपालिकाले २२.१७, मलङ्गवा नगरपालिकाले २१.८५, धनकौल गाउँपालिकाले २०.६३, कविलासी नगरपालिकाले १९.७८ र हरिपुर नगरपालिकाले १९.२७ अङ्क प्राप्त गरेका छन् । यो वर्ष अहिलेसम्म बजेट ल्याउन नसकेको चन्द्रनगर गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कनमा ११.५२ अङ्क प्राप्त गरेको छ ।

चन्द्रनगरमा गाउँपालिका अध्यक्ष राजकुमार महतो र दुई जना वडाध्यक्षबाहेक बहुमत गाउँसभा सदस्यको अवरोधका कारण चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउन सकेको छैन । हरिपूर्वामा नगरप्रमुख विनोदकुमार साह तेलीले बहुमत नगरसभा सदस्यको उपस्थितिमा तनावकै बिच बजेट पास गराए पनि चन्द्रनगरमा गाउँपालिका अध्यक्ष महतो अल्पमतमा हुनुहुन्छ ।

राजनीतिक हस्तक्षेप र जनप्रतिनिधिबिचको टकराबका कारण हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिका खराब अवस्थाबाट गुज्रिरहँदा विकास निर्माणका काम ठप्प छन् ।