• १२ साउन २०८१, शनिबार

यौनिकतासम्बन्धी शिक्षालाई खुला गर्नुपर्छ : सभामुख मण्डल

blog

जनकपुरधाममा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा जनचेतना अभियान नेपालले आयोजना गरेको बृहत् यौनिकता शिक्षासम्बन्धी पैरवी कार्यक्रममा बोल्नुहुँदै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल । तस्बिर :धर्बेन्द्र झा

धर्बेन्द्र झा
जनकपुरधाम, फागुन ११ गते ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाजमा लुकाउने गरिएको यौनिकतासम्बन्धी शिक्षालाई खुला गर्नुपर्ने बताउनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा जनचेतना अभियान नेपालले शुक्रबार आयोजना गरेको बृहत् यौनिकता शिक्षासम्बन्धी पैरवी कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २१सौं शताब्दीमा आइसक्दा पनि हाम्रो समाज यौन शिक्षाको विषयमा अझै पनि खुला नभएको भन्दै यौनशिक्षाको अभावमा यौन हिंसाबाट पीडित भएकाहरु पनि इज्जत प्रतिष्ठा र मान मर्यादाका कारण समस्यालाई बाहिर नल्याउने गरेको उहाँको भनाइ थियो ।

उहाँले बालबालिकाको जिवन व्यवहारमा धेरै खालका समस्या हुने गरेको भन्दै यौनिकतासम्बन्धी  शिक्षाले तिनीहरुलाई  धेरै समस्याबाट मुक्ति दिलाउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभिभावकले नजानेर पनि गरेका कतिपय व्यवहारबाट बालबालिकालाई विभिन्न खालका समस्या हुने गरेको भन्दै बालबालिकासँग जोडिएका यौनशिक्षा, बालश्रम, बालविवाह जस्ता विषयमा तिनै तहका सरकारले काम गर्नु जरुरी भएको बताउनुभयो । कार्यक्रममा मधेश प्रदेश सरकारका प्रतिनिधि देवकुमारी खत्रीले यौनिकतासम्बन्धी शिक्षाको अभावमा समाजमा किशोर किशोरीहरु हिंसा र कुलतमा फसने गरेको भन्दै यौनिकतासम्बन्धी शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले यौनिकतासम्बन्धी शिक्षाको अभावमा बालविवाहको घटना पनि बढेका कारण प्रदेश सरकारले सन २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लिएको लक्ष्यलाई पूरा गर्नका लागि पनि यो शिक्षा अनिवार्य भएको बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यौनिकतासम्बन्धी शिक्षालाई मधेश प्रदेशका १३६ वटै पालिकाले पाठयक्रममा समावेश गर्नुपर्ने, गुड नेवर्स इन्टरनेशनलले दलित बस्तीहरुलाई पनि कार्यक्रममा समावेश गरी दायराफराकिलो पार्नुपर्नेमा जोड दिएका थिए । जनचेतना अभियान नेपालले भंगहा नगरपालिकाको चारवटा विद्यालयमा छात्रा कल्व गठन गरेर पहिलो चरणमा कार्यक्रम सञ्चालन गरेको जनचेतना अभियान नेपालका कार्यकारी प्रमुख सुनिल यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी भएका छात्राहरुले सुरुवातीमा भने यौनिकतासम्बन्धी शिक्षा दिँदाखेरी शिक्षा लिन आउन नमान्ने गरेका छात्राहरु विस्तारै शिक्षा लिन थालेपछि विद्यालयहरुमा यौन हिंसाका घटनामा पनि कमी आएको र महिनावारीसम्बन्धी समाजमा देखिएका अन्धविश्वास पनि विस्तारै अन्त्य हुँदै गएको विद्यार्थी प्रीतिकुमारी यादवले बताउनुभयो । जनचेतना अभियानका बोर्ड सदस्य राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका रामनरेश यादव, भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साहसहितले बोल्नुभएको थियो ।