• १२ साउन २०८१, शनिबार

महासमितिमा महिला नीतिमा छलफल हुन सकेन : कांग्रेस नेत्री

blog

काठमाडौं, फागुन ११ गते । नेपाली कांग्रेसका नेत्रीहरुले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन् ।शुक्रबार काठमाडौंमा भएको एक भेलामा सहभागी नेत्रीहरुले महासमितिको बैठकमा महिला केन्द्रित नीतिबारे सामान्य छलफल मात्रै भएको बताए । बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको बताए ।

भेलामा सहभागी नेपाली कांग्रेस नेत्री डा.आरजु राणा देउवाले वडा तहदेखि पार्टीको केन्द्रीय संरचनासम्म महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेर जान आवश्यक रहेको बताउनु भयो । निर्वाचन प्रणालीको बारेमा भइरहेको बहसमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली हटाउन खोजिए महिला दलित र पछाडि पारिएको क्षेत्र पछाडि नै रहने स्पष्ट पार्नुभयो ।

कांग्रेसका महिला नेत्रीहरुले महासमितिले स्पष्ट पार्न नसकेको महिला समितिको विषय केन्द्रीय समितिको बैठकमा प्रमुख एजेण्डाको साथ उठाउने बताएका छन् ।

कार्यक्रममा बोल्नुहुँदै कांग्रेस नेत्री कान्तिका सेजुवालले महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका र पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिए पनि महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा महिलाका लागि थप ऊर्जाशिल हुने कार्यक्रम नीति आउन नसकेको बताउनु भयो । उहाँले सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रीय कमिटीले मूर्त रुप दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका, हाम्रो पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिएको छ तर त्यस भन्दा थप ऊर्जाशिल हुने कार्यक्रम नीति आउन सकेनन् । सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिनेछ ।’’


त्यस्तै कांग्रेस नेत्री पुष्पा भुसालले नेपाली कांग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा कांग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रुपमाबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बताउनुभयो । उहाँले महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने भए पनि हुन नसकेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा कांग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ । महिला नीति बन्नुपर्छ भन्ने माग राखेका थियौँ । सामाजिक, आर्थिक, राजनीतिक रुपबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्छ । महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने थियो, समावेश भएन ।’’


कांग्रेस नेत्री सरस्वती अर्यालले महिलाको मुद्दामा, घर, समाज, देशसम्म हरेक ठाउँमा महिलाको पहुँच नपुगेको आवाज उठेपनि सम्बोधन नभएको गुनासो गर्नुभयो । उहाँले पार्टीको पदाधिकारीमा महिलाको पहुँच नपुगेको बताउनुभयो । उहाँले महिलालाई चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्ने र महिला महिलाबिचमा लड्ने क्षेत्र तयार गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेस नेत्री रंगमति शाहीले कांग्रेसको नेतृत्वमा महिलाको उपस्थिति कम रहेको बताउनु भयो । उहाँले महिलाका अधिकार सुनिश्चित गर्न छुट्टै महिला नीति बनाएर अघि बढ्नुपर्ने आवाज उठेको भए पनि नीति बनेर नआएको बताउनु भयो । उहाँले अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘माथिल्लो तहमा महिलाको उपस्थिति रहेन । आवाज नउठेको होइन, महिलाले सशक्त आवाज उठाउनुभएको थियो । वडादेखि कांग्रेस केन्द्रीय तहसम्म प्रमुख पदमा अनिवार्य महिला भनेर जुन आवाज उठाइएको थियो । अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्छ भन्ने माग गरेका छौँ । सशक्त रुपमा आवाज उठेपनि नीति बनेर आएन । सातै प्रदेशमा नेतृत्व पुरुषको छ, त्यसले पनि आवाज कम भयो ।’’

कांग्रेस नेत्री विष्णु परियारले महिलाका अधिकारलाई पार्टीले गम्भीर रुपमा लिन जरुरी रहेको बताउनु भयो । उहाँले कांग्रेस अहिले परिस्थितिले बिग्रिएको टिप्पणी गर्नुभयो । उहाँले मञ्चमा पनि कांग्रेसमा महिलाको उपस्थिति न्युन हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘महिलालाई पार्टीले गम्भीर रुपमा लिएर अगाडि लैजानुपर्छ । कांग्रेस अहिले परिस्थितिले बिग्रियो । मञ्चमा पनि न्यून उपस्थिति महिलाको छ । अहिलेको कांग्रेस सुकिलामुकिला, धनी, धनाढ्यको भयो । महिलालाई जबसम्म अघि ल्याउन सक्दैन तबसम्म सही काँग्रेस बन्न सक्दैन ।’’

उहाँले कांग्रेस पार्टी अहिले सुकिलामुकिला, धनी, धनाढ्यको पार्टी बनेको आरोप लगाउनु भयो । उहाँले कांग्रेसले महिलालाई अगाडि नलगेसम्म कांग्रेस सही बन्न नसक्ने जिकिर गर्नुभयो ।

फागुन १० गते गोदावरीमा सकिएको कांग्रेस महासमिति बैठकमा महिलाका हक, अधिकारबारे आंशिक छलफल भए पनि नीतिमा नसमेटिएको प्रति कांग्रेस नेत्रीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् र उनीहरुले पार्टीको केन्द्रीय कार्यसमितिमा प्रस्तुत हुने प्रतिवेदनले महिलाको अधिकारलाई सशक्त हुनेगरी सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।