• २ वैशाख २०८१, आइतबार

मरेर बाँचेकी कमलीको गुहार, ‘छोराछोरीले हेरेनन् ’

blog

काठमाडौं, फागुन १२ गते । रोगी शरीरले थलिएका कमली तामाङलाई बुढ्यौली उमेरमा सन्तानको मायाले सताउँछ ।

कमलीको आँखा आफ्ना सन्तानलाई हेर्न जतिबेलै तड्पिरहन्छ । ६० वर्षीया उहाँका जना सन्तान छन् । स्वास्थ्य उपचार हुन नपाएरै उहाँको श्रीमानको मृत्यु भयो । त्यसपछि उहाँको जीवनयापन थप कष्टकर र दयनीय भयो ।

“श्रीमानको मुटु दुख्यो, मुटु दुख्यो भन्थ्यो । औषधी ल्याइदेऊ न छोराहरूभन्दा पैसा छैन भन्यो । मैले गाईभैँसीको दुध खुवाइदिँदै गर्दा नै सास गयो । म एक्लो भएपछि छोराहरुले हेरेनन्,” उहाँले श्रीमान् स्वर्गीय भएको क्षण सम्झनुभयो ।

उहाँ पहिलादेखि नै बेला–बेलामा छोप्ने रोगको पीडित हुनुहुँदो रहेछ । उहाँले भन्नुभयो, “मेरो छोप्ने रोग छ । तीन चोटि आगोमा परेर बाँचेकी मान्छे हुँ । अब म ६० वर्ष पुग्नै लागेँ। खुट्टा आगोले जलेको थियो । त्यसैले आमाजूको बुढा (फुपाजु)ले मलाई उपचारका लागि भनेर काठमाडौँ ल्याइदिनुभयो ।”

काठमाडौँस्थित मानव सेवा आश्रमको संरक्षणमा रहनुभएकी तामाङलाई घरीघरी लागिरहन्छ कुनै न कुनै बेला आफ्ना छोराछोरीले सम्झेर फोनसम्म त गर्लान् । 

उहाँले भन्नुभयो, “मेरा छोराहरू काठमाडौँमा छन् । तीन भाइ छोरा र तीन बहिनी छोरी छ । मसँग मोबाइल छैन । छोराछोरीसँग थियो होला, फोन आउँदैन ।”

जन्मथलो भारतको सिलगढी बताउनुहुने उहाँको विवाह भने दोलखामा भएको थियो । उहाँले भन्नुभयो, “गाउँघरमा खेतीपाती गरेर खान्थ्यौँ । बुढा खेतको कामधन्दा गर्न जान्थे । मलाई साह्रै पिर लागेको छ । छोराछोरीलाई दुःख गरेर हुर्काए । उनीहरू अहिले के काम गर्छन् थाहा छैन ।”

उहाँले आफूलाई घर लैजान र परिवारसँगै राख्न गुहार गर्दै आउनुभएको छ ।

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।