• १२ साउन २०८१, शनिबार

बंगलादेशसँग विद्युत निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने

blog

काठमाडौं,  फागुन १० गते । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । 

आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई देशबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र  बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भएको थियो । 

विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौं, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरुमा  विस्तृत रुपमा छलफल गर्यौं’, घिसिङले भन्नुभयो । ‘उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’

प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यातका बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ । 

नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुने छ ।