• १२ साउन २०८१, शनिबार

प्रेस चौतारी कास्की अध्यक्ष पुर्पक्षका लागि थुनामा

blog

लेखनाथ, फागुन ८ गते। सहकारी ठगी अभियोगमा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि जेल चलान भएका छन्। पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। 

न्यायाधीश रामचन्द्र शर्माको इजलासले पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। गत मङ्सिरमा पक्राउ पुर्जी जारी भएपछि फरार गिरी बुधबार अदालतमा उपस्थित भएका थिए। बुधबार थुनछेक बहस नसकिएपछि बिहीबार थुनछेक बहसपछि अदालतले यस्तो आदेश गरेको हो।

पोखराको ताण्डव न्युज डटकमका प्रधान सम्पादकसमेत रहेका गिरी मित्रमिलन सहकारीका प्रेस सल्लाहकार थिए। गिरी नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य एवम् पोखरा २१ का वडा इन्चार्जसमेत छन्। उनी प्रेस चौतारी कास्की अध्यक्षसमेत हुन्। 

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपियाँ रकम अपचलन गरेको आरोप छ। 

मंगलबार पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीलाई जिल्ला अदालत कास्कीले मङ्गलबार धरौटीमा छाड्न आदेश दिएको थियो। आठ लाख धरौटी बुझाएर रिहा सुवेदीलाई लगत्तै प्रहरीले पक्राउ गरेको छ।

शान्ति केसीले वडाध्यक्ष सुवेदीले आफूलाई ठगेको जाहेरी दिएकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सहकारी ठगी अभियोगमा फरार सुवेदी मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए। 

३३ जना विरुद्ध पोखराको मित्रमिलन सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ। जिल्ला अदालत कास्कीबाट गएको मङ्सिर २६ गते ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

यसअघि नै जनकल्याण पराजुली तीन लाख, सुरेशकुमार श्रेष्ठ सात लाख, हरेराम भण्डारी सात लाख, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी सात लाख, विष्णुप्रसाद भण्डारी सात लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई १२ लाख धरौटीमा छुटिसक्नुभएको छ। 

ठगी अभियोगमा यसअघि नै छ जना जना पुर्पक्षका लागि कारागारमा छन्। अध्यक्ष रमण पौडेल, पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार शेयर सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल कारागारमा छन्।