• १२ साउन २०८१, शनिबार

हुम्लाको खाद्य गोदाममा ६ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात

blog

लिमिटेडको हुम्ला शाखाको गोदाममा मौज्दात रहेको खाद्यान्न । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, फागुन १० गते ।
 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न लिमिटेडको हुम्ला शाखाको गोदाममा छ हजारभन्दा बढी खाद्यान्न मौज्दात रहेको पाइएको छ । ढुवानीको जिल्ला पाएको सिम्रिक एयरको हेलिकोप्टर दुई महिनायता नियमित रूपमा ढुवानी कार्यलाई तीव्रता दिएपछि खोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक पाइएको हो ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले फागुन ७ गतेसम्म गोदाममा मौज्दात खाद्यान्न छ हजार ८५३ दशमलव ८३ क्विन्टल रहेको बताउनुभयो । उहाँले यो गोदाममा मौज्दात रहेको खाद्यान्न हालसम्म कै बढी रहेको बताउनुभयो ।

यसरी खाद्यान्न मौज्दात बढी हुनुमा उहाँले यसवर्ष हवाई मार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानी जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले गत पुस ८ गतेयता नियमित उडान भरेर ढुवानी कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो ।

हेलिकोप्टरले दैनिक २० देखि २५  हजार खाद्यान्न ढुवानी गर्ने गरेको छ । शाखाले उपलब्ध गराएको विवरण अनुसार चालु आर्थिक वर्षमा खाद्यान्न प्राप्तितर्फ अघिल्लो वर्षको अल्या, अघिल्लो वर्षको बाँकी हवाई मार्गबाट ढुवानी भएको, तिब्बती मार्गबाट भएको ढुवानी, आव ०८०/०८१ को हवाई मार्गबाट भएको ढुवानी, पैदल मार्गबाट भएको ढुवानी गरी कुल १६ हजार पाँच सय दशमलव २५ क्विन्टल रहेको छ ।

यसैगरी, यस वर्षको हालसम्मको खर्चतर्फ सर्वसाधारण, व्यवसायी र कर्मचारीलाई वितरण, सर्वसाधारण, व्यवसायी र कर्मचारीलाई सहुलियतमा वितरण, कैदीबन्दी, जन्म मृत्यु अनुदान, बिक्री केन्द्र लिमी चलान, बिक्री केन्द्र याल्वाङ चलान गरी नौ हजार ६७६ दशमलव ४२ क्विन्टल रहेको छ ।

अझै चालु आर्थिक वर्षको हवाई तथा पैदल मार्गको खाद्यान्न ढुवानी हुन बाँकी रहेको छ । यस वर्षको खाद्यान्न सिम्रिक एयरले नेपालगन्जबाट प्रतिकेजी १४३ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको थियो ।

सो खाद्यान्न सुर्खेतबाट ट्रकमा ढुवानी भएर हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्म आउने गरेको छ । ल्याप्चेबाट भने हेलिकोप्टरले सिमकोटमा ढुवानी गर्दै आएको हो ।