• १७ वैशाख २०८२, बुधबार

कुँवरले खिचेको तस्बिरलाई सोनी अवार्ड

blog

कपनस्थित फेल्ट बलको बिचमा सुतेर मुस्कुराइ रहेकी एक बालिका । विवेक कुँवरले खिच्नुभएको यो तस्बिरले ‘सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ ।

काठमाडौँ, फागुन ९ गते । फोटोग्राफर विवेक कुँवरले खिचेको तस्बिरले ‘सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ । कपनस्थित फेल्ट बलको बिचमा सुतेर मुस्कुराइ रहेकी एक बालिकाको तस्बिर विजेता बनेको हो । 

फेल्ट बल उत्पादन गर्ने कम्पनीको डकुमेन्ट्री बनाउने क्रममा खिँचेकाे तस्बिर राम्रो लागेर कुँवरले सोनी वर्ल्ड फोटोग्राफी अवार्डका लागि दिनुभएको थियो । फोटोले अवार्ड जितेपछि  फोटोग्राफीप्रति थप प्रेरणा र ऊर्जा मिलेको उहाँकाे भनाइ छ ।

विगत ११ वर्षदेखि विश्वभरका युवा, विद्यार्थी, फोटो पत्रकार तथा फोटोग्राफरका लागि सोनी वर्ल्ड फोटोग्राफी अवार्ड आयोजना हुँदै आएको छ । विजेतालाई  पाँच हजार डलर पुरस्कारसहित सोनीका उत्पादन प्रदान गरिँदै आएको छ । 

सो अवार्डका लागि ५४ देशका विजेता फोटोको घोषणा गरिएको बिबिसीले जनाएको छ । उक्त तस्बिर २०२४ को अप्रिल र मे महिनामा लण्डनको समरसेट हाउसमा प्रदर्शनी गरिने जनाइएको छ । एक विदेशी फोटोग्राफरले नेपालमा घुम्न आउँदा खिचेको हात्तीले बालुवा खेलाएको तस्बिर पनि पुरस्कृत भएको छ ।