• १३ साउन २०८१, आइतबार

एक हप्ते दादुरा-रुबेलाविरुद्धका खोप अभियान

blog

दादुरा–रुबेला खोप अभियानबारे जानकारी दिनुहुर्दै स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन ९ गते । मकवानपुरमा दादुरा रुबेलाविरुद्धको एक हप्ते खोप अभियान सुरु हुने भएको छ । आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

अभियान अवधिमा मकवानपुरभित्र ५ सय २० वटा खोप केन्द्रमार्फत करिब ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनको लागि अभियान सुरु गर्न लागिएको हो । 

अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लामा तीनसय ४० जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने जानकारी दिएको हो । 

सन् २०२६ सम्म दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता रहेकोमा नियमित दादुरा रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको बताइएको छ । सरकारले २०७६÷७७ मा चलाएको अभियानपछि गरिएको सर्वेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र देखिएको थियो । 

नेपालभर गत आर्थिक वर्षमा एक हजार तीन सय ५० जनामा दादुरा रुबेला रोग देखिएको थियो । त्यसमध्ये मकवानपुरमा ४० जना सङ्क्रमित भेटिएका थिए । दादुरा रुबेला सङ्क्रमितमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेको बताइएको छ । मकवानपुर जिल्लामा नियमित खोप कार्यान्वयनमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका उत्कृष्ट रहेको स्वास्थ्य कार्यालयले विश्लेषण गरेको छ । बागमती प्रदेशमा नुवाकोटबाहेक सबै जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ ।

दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।