• १७ वैशाख २०८२, बुधबार

दीर्घसेवी पाँचजना गोरखापत्रकर्मी सम्मानित

blog

सेवानिवृत्त हुनुभएका कर्मचारीहरुसँग कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीसहित संस्थानका अन्य पदाधिकारीहरु । तस्विरः गोरखापत्र

गोरखापत्र अनलाइन 

काठमाडौं, फागुन ९ गते । गोरखापत्र संस्थानमा दीर्घसेवा प्रदान गरी सेवानिवृत्त हुनुभएका कर्मचारीको सेवाको कदर गर्दै पाँचजना कर्मचारीलाई सम्मान गरिएको छ । संस्थानमा बुधबार आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी र गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले उहाँहरुलाई सम्मान गर्नुभयो ।  

प्रशासन अधिकृत नरेन्द्रबहादुर अधिकारी, वितरण अधिकृत ज्योत्सना कुँवर, कार्यालय सहयोगीहरु कुमाले विष्ट क्षेत्री, मोहनकृष्ण सिलवाल र ओमबहादुर थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । उहाँहरुलाई मायाको चिनो पनि प्रदान गरिएको छ । उहाँहरू ५८ वर्ष उमेर हदका कारण सेवानिवृत्त हुनुभएको हो । 

कार्यक्रममा सम्बोधन गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र परिवारको अग्रज एवम् असल सिपाहीलाई सम्मान गर्न पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको बताउनुभयो । लामो समय योगदान गर्नुभएका अग्रजलाई राम्रोसँग बिदाइ गर्ने यो एक सुखद प्रयास भएको उल्लेख गर्दै अध्यक्ष सुवेदीले आगामी दिनमा बिदाइ भएका कर्मचारीसँग संस्थानको विशिष्ट किसिमको सम्बन्ध सुरु भएको छ भन्नुभयो । 


कार्यक्रममा व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ सल्लाहकार रामकृष्ण अधिकारी, सञ्चालक समितिका सदस्य एवम् अर्थ विभाग प्रमुख राजुकुमार महत, प्रशासन विभाग प्रमुख भगीरथ बस्नेतलगायतले सेवानिवृत्त कर्मचारीको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । सेवानिवृत्त कर्मचारीहरूले संस्थानको अझै उन्नति र प्रगति भएको देख्न चाहेको धारणा राख्नुभयो ।