• १६ वैशाख २०८१, आइतबार

विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग दुई विकेटले पराजित

blog

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल  नामिबियासँग दुई विकेटले पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको एक सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो । 

नामिबियाका लागि कप्तान जोरार्ड इरास्मस ५२ रन बनाउनुभयो । यस्तै माइकल भान लिङ्गेनले ३१, जेजे स्मिथले अविजित ३४ र रुबेल ट्रम्पलम्यानले १६ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले एक एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाउनुभयो । उहाँले ६४ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनुभयो । बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार विकेट लिनुभयो । कप्तान जोरार्ड इरास्मस र ज्याक ब्रसिलले एक एक विकेट लिनुभयो । 

जितसँगै चीन खेलबाट चार अङ्क बनाएको नामिबिया शीर्ष स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेदरल्यान्ड्सको दुई खेलबाट दुई अङ्क छ । नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । नेपालले यस सिरिजको चौथो तथा अन्तिम खेल आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । 


आठ टोली सहभागी आइसिसी विश्वकप लिग–२ मा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई) र अमेरिका रहेका छन् । सन् २०२७ सम्म चल्ले यस लिगमा प्रत्येक टोलीले त्रिकोणात्मक सिरिजको ढाँचामा कूल एक सय ४४ खेल खेल्नेछन् । 

जसमध्ये शीर्ष चारमा रहने टोलीले एक दिवसीय मान्यता जोगाउने छ  भने विश्वकप छनोट खेल समेत खेल्न पाउनेछ । लिग–२ सिरिजको अघिल्लो लामो चक्रमा नेपालले गतवर्ष पछिल्ला खेलहरूमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाउँदै लिग–२ मै रहेको थियो ।