• २ जेठ २०८२, शुक्रबार

जनता आवास कार्यक्रम अन्तर्गत ४७ घर निर्माणका लागि सम्झौता

blog

आवास निर्माण सम्झौता गर्दै बिगु ८ थामीचागुका स्थानीयहरु ।

सुजन काफ्ले

चरीकोट, फागुन ९ गते । दोलखामा जनता आवास कार्यक्रम अन्तर्गत ४७ घर निर्माण गर्नका लागि सम्झौता गरिएको छ । सहरी विकास कार्यालय धुलिखेल तथा भवन कार्यालयले जिल्लाको बिगु गाउँपालिका थामीचागुका ४५ र शैलुङ गाउँपालिकामा २ वटा घर निर्माणका लागि सम्झौता गरेको हो ।

घर निर्माणका लागि सम्झौता गरिएसँगै थामीचागुका गाउँका स्थानीयहरुमा खुसी छाएको छ । भूकम्पबाट छुटेका परिवारलाई घर बनाइदिने भन्दै सहरी विकास तथा भवन कार्यालय धुलिखेलका प्रमुख सन्तोष निरौलासहितको टोली थामीचागू पुगेर निर्माण सम्झौता गर्नुभएको छ । गाउँ पुगेर स्थानीयसँगै बसेर आवास निर्माणका लागि ४७ जनासँग सम्झौता गरिएको कार्यालय प्रमुख निरौलाले जानकारी दिनुभयो । 

जनता आवास कार्यक्रमको कार्यविधि अनुसार थामीचागूका थामी समुदायको घर नभएकाको घर बनाउन लागिएको उहाँको भनाइ छ । आफ्नो सुरक्षित बास नभएकाको निवेदन र स्थलगत निरीक्षणका आधारमा यो वर्ष ४७ जना लाभग्राहीको रूपमा छनोट भएका छन् । सम्झौता भएका लाभग्राहीले आफ्नो घर बनाउँदा तीन लाख ५० हजार पाउनेछन् ।

यो एउटै गाउँमा चार सय ५० घर छन् । अधिकांश घर भूकम्प पछिको पुनर्निर्माणबाट बने तापनि साविक खोपाचागू गाविस हालको विगू–८ को मात्र एक सयभन्दा बढी घर छुटेको थियो । गुनासोबाट पटक पटक पठाउँदा पनि उहाँहरूको नाम नआएपछि टहरामै बास बस्न बाध्य थिए । थामीचागूमै सहरी विकास कार्यालयले २० लाखमा एक सामुदायिक भवनसमेत निर्माण गरेको छ । गत वर्ष जनता आवास कार्यक्रमबाट जिरी नगरपालिकाभित्र ५० घर बनेका थिए ।

घर निर्माण सम्झौता भएपछि बिगु गाउँपालिका–८ थामीचागूका शुकवीर थामी उत्साहित देखिनुभयो । २०७२ सालको विनाशकारी भूकम्पले घर भत्किएपछि टहराको बास बस्दै आउनुभएका थामी अब पक्की घर बन्ने भएपछि खुसी छन् । थामीचागूको शुकवीर जस्तै अरु स्थानीयहरु पनि उत्साहित भएका छन् । 

"बस्ने बास पनि चित्रा र टिनको पाताले बारेर बनाइयो," स्थानीय बुधमाया थामीले भन्नुभयो, "भूकम्पपछि धेरैको घर पुनर्निर्माणबाट बन्यो, तर हाम्रो बास अहिलेसम्म त्यही टहरामै छ, अनुदान पनि आएन, घर बनाउन पनि सकिएन ।"

भूकम्प प्रतिरोधी घर बनाउन कार्यालयले उपलब्ध गराएको नक्सा बमोजिमको घर बनाउनुपर्ने जनता आवासका लागि खटिएका सहरी विकास तथा भवन कार्यालयका इन्जिनियर धर्मेन्द्र यादवले बताउनुभयो । जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ अनुसार जग्गा तयार गरेर जग खनेपछि पहिलो किस्ता २५ प्रतिशत, डीपीसी पूरा गरेपछि दोस्रो किस्ता ३० प्रतिशत, गाह्रो तयार भएपछि ३५ प्रतिशत र छानो, झ्याल ढोका, शौचालय तयार भएपछि अन्तिम किस्ता १० प्रतिशत पाउँछन् ।

कार्यविधि अनुसार लोपोन्मुख, सीमान्तकृत, दलितका कार्यविधिले समेटेको छ । कार्यविधिले समेट्ने विपन्नसमेत भूकम्पमा पुनर्निर्माणमा नपरेकालाई यो कार्यक्रममार्फत समेटिएको उहाँको भनाइ छ । 

काभ्रेपलान्चोकको धुलिखेलमा रहेको सहरी विकास तथा भवन कार्यालयलले सम्पर्क कार्यालय दोलखा सदरमुकामा चरीकोटमा खोलेको छ । धुलिखेलमा रहेको सो कार्यालयले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखाका सहरी विकास र भवनसम्बन्धी काम गर्दै आएको छ । दोलखाका उपभोक्ता समिति र ठेक्काको काममा सम्झौता, प्रतिवेदन बुझाउन र भुक्तानीका लागि धुलिखेलसम्म धाउन सास्ती भएकाले चरिकोटमा एकाइ कार्यालय खोलेको सहरी विकास तथा भवन कार्यालय धुलिखेलका प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।

कार्यालयमा एक इन्जिनियरसहितका प्राविधिक बस्नेछन् । इकाई कार्यालयबाट आर्थिक कारोबारबाहेकका सम्पूर्ण काम हुने जनाइएको छ । सो कार्यालयबाट हुने काम सहज रुपमा जिल्लाबाट हुनेभएपछि दोलखावासी नागरिक खुसी भएका छन् ।