ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), फागुन ९ गते । बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु हुने ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोटलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञलाई सम्बोधन गर्न दोस्रो दिन फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल पञ्चकोट आउन लाग्नुभएको हो ।
फागुन ९ देखि २३ सम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिँगारिएको छ । बागलुङदेखि पञ्चकोटसम्म ठाउँ ठाउँमा स्वागत प्रवेशद्वार निर्माण गरिएका छन् । महायज्ञ स्थलमा आवश्यकपर्ने संरचना निर्माण भइसकेको र महायज्ञको सम्पूर्ण तयारी पूरा भएको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
पञ्चकोटधाम स्थापनाको १० औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका प्रवक्ता प्रपन्नाचार्यले बताउनुभयो । जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञ गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मूख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ बाबा कमलनयनाचार्यले बताउनुभयो । नौ वटा मौलो धान, चामल, गहुँ, मकै, चना, तिल, जौँ, सर्सिउँ र मासको रहने उहाँले बताउनुभयो ।
महायज्ञमा हजारौँ भक्तजन उपस्थित हुने हुँदा उनीहरूका लागि आवास, भोजनालय, लिङ्ग गाड्ने आन्तरिक व्यवस्थापन तयारी पूरा भएको पञ्चकोट बृहत्तर विकास समितिका उपाध्यक्षसमेत रहनुभएका बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । पञ्चकोटमा निर्माण गरिएका धार्मिक संरचनालाई मर्मतसम्भार र रङरोगन गरेर चिटिक्क पारिएको छ । उहाँका अनुसार महायज्ञको पहिलो दिन मुक्तिनाथबाट त्रिवेणीधामसम्मका १०८ जना नौ वर्षका कन्याले उद्घाटन गर्ने छन् । कालीगण्डकीको तीरबाट शिरसम्मका कन्याको व्यवस्थापनसमेत गरिसकेको उहाँको भनाइ छ । महायज्ञमा नौ कन्याको उचाइ बराबरको नौ वटा मौलो राखिने छ ।
महायज्ञमा १० गते राष्ट्रपति पौडेल, ११ गते शिक्षामन्त्री अशोककुमार राई तथा संस्कृतिविद्हरू, १२ गते गण्डकी प्रदेशका सबै पालिकाका जनप्रतिनिधि, १३ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाउसहित सातवटै प्रदेशका मुख्यमन्त्री, १४ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र रक्षामन्त्री पूर्णबहादुर खड्का, १५ गते कृषिमन्त्री डा. वेदुराम भुसाललगायतका अतिथि महायज्ञमा आउनुहुने आयोजकले जनाएका छन् ।
महायज्ञमा सवा लाख नरिवल हवन हुने छ । यज्ञमा हरेक सहभागीले आफैँले सुक्खा नरिवल लिएर जाने छन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगव्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिदिने व्यवस्था मिलाइएको छ । नरिवललाई कालीगण्डकीको जलले धोएर द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको छ । विभिन्न समयमा महायज्ञ सञ्चालन गरेर र विभिन्न सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरका धार्मिक संरचना निर्माण भइसकेका छन् । पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । गण्डकी विश्व शान्ति कलश निर्माणाधीन अवस्थामा छ । कलश निर्माण गर्न करिब एक अर्ब लाग्ने अनुमान छ । १५ दिनसम्म सञ्चालन हुने महायज्ञमा हरेक दिन फरक फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि गरिने छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा हुन लागेको महायज्ञलाई व्यवस्थित बनाउन स्थानीयसमेत परिचालित भएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।