• ११ असोज २०८१, शुक्रबार

लोपोन्मुख गिद्ध संरक्षणमा चासो

blog

कावासोती-१३ मा अवस्थित जटायु रेष्टुरेन्टमा गिद्ध ।

मीना कंडेल

कावासोती, फागुन ८ गते । नवलपुरको कावासोती–१३ मा लोपोन्मुख गिद्ध संरक्षण गर्न जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । गिद्ध संरक्षणका लागि समुदाय स्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो । १८ वर्ष अगाडि स्थापना भएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्यमा रूपमा विकास हुँदै गएको छ ।

जो कोहीको पनि रेष्टुरेन्ट भन्नलो विभिन्न खानाका परिकार पाउने तथा बास बस्नका लागि खोलिएको भन्ने बुझाई छ । तर जटायु रेष्टुरेन्ट मानिसको लागि नभई गिद्धलाई खाना खुवाउन खोलिएको ठाउँ हो । यहाँका गिद्धलाई हप्ताको दुई दिन खाना दिने गरिएको छ भने अन्य दिन उनीहरूले वातावरणमा घुमफिर गर्दा बाहिरको खाना खाने गर्दछन् ।

जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवम् चराविज्ञ डिबी चौधरीले विषादीयुक्त आहारा र वासस्थानमा आएको ह्रासका कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट जटायु रेष्टुरेन्टको स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रेष्टुरेन्टको गौशालामा पालिएका गाईबस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिँदै आएको छ । यसबाहेक जिल्लाभित्र विभिन्न कृषि फार्ममा मरेका गाईभैँसी ल्याएर परीक्षणपश्चात् आहाराका रूपमा प्रयोग गरिने गरिएको छ । ”

पछिल्लो समय लोपोन्मुख गिद्ध संरक्षणमा चुनौती समेत थपिएको छ । एक वर्षको अवधिमा विषादीयुक्त आहाराका कारण २३ गिद्धको मृत्यु भएको छ । सोमबार ६ वटा गिद्ध मृत भेटिएपछि यसप्रति संरक्षणकर्मीले चासो दिएका छन् । लोपोन्मुख गिद्ध संरक्षण गर्नका लागि जुन ठाउँमा रेष्टुरेन्टको स्थापना गरिएको छ त्यहीँ यति धेरै गिद्ध मरिनु चिन्ताको विषय भएको लेखनाथ दवाडीले बताउनुभयो । 

लोपोन्मुख गिद्ध संरक्षणमा एक जनाले मात्र नभई समुदायस्तरको पनि उतिकै भूमिका रहने हुनाले यसतर्फ सबै सचेत हुनुपर्ने दवाडीले बताउनुभयो । उहाँका अनुसार गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएको छ ।

प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधीको प्रयोगसँगसँगै वासस्थानमा आएका ह्रासका कारण गिद्ध लोपोन्मुख अवस्थामा पुगेका उहाँ बताउनुहुन्छ । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशुको मृत्युपछि सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेका तथा वासस्थानमा आएका ह्रास कारणले गिद्ध लोपोन्मुख अवस्थामा पुगेका चौधरीको भनाइ छ ।

यस ठाउँमा जैविक विविधता, पर्यापर्यटन एवम् वन तथा वातावरण अध्ययन गर्ने तथा गिद्ध अवलोकनका लागि विद्यार्थी, सोधकर्ता, विदेशी तथा स्वदेशी पर्यटक अध्ययन गर्न आउने गरेका छन् । खाना दिने दिन धेरैको सङ्ख्यामा गिद्ध देखिने हुँदा गिद्ध अवलोकन र अध्ययनका लागि समेत सहज हुने भएकाले हप्ताको दुई दिन अवलोकनका लागि खुला गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

कावासोती–१३ मा रहेको नमुना सामुदायिक मध्यवर्ती वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेस्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले बताउनुभयो । यहाँ रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध छन् ।