• १३ साउन २०८१, आइतबार

चार सय जनामा मोतीबिन्दु, ३०१ को निःशुल्क शल्यक्रिया

blog

काठमाडौं, फागुन ८ गते । आँखा शिविरमा मोतीबिन्दुको समस्या देखिएका तीन सय एक जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घका अनुसार आँखा शिविरमा मोतीबिन्दुको समस्या देखिएका चार सय बिरामी मध्य तीन सय एक जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र मेहलकुना र गुर्भाकोट नगरपालिकाको सहकार्यमा गत माघ १७ गतेदेखि फागुन १ गतेसम्म वडास्तरमा आँखा शिविर सञ्चालन गरेको थियो ।  शिविरमा दुई हजार आठ सय ४० जना व्यक्तिको आँखा परीक्षण गर्दा चार जनामा मोतीबिन्दुको समस्या देखिएको थियो ।

सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले सुर्खेत जस्तो सुगम जिल्लाको एउटै पालिकामा चार सय जनामा मोतीबिन्दुको समस्या देखिनु सामान्य नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसबाट अहिले पनि नागरिकहरूलाई आँखा उपचारको आवश्यकता महसुस नै भएको छैन भन्ने देखिन्छ । त्यसैले अब हामीले नागरिकहरूमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न जरुरी छ ।’’

सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुख मान बहादुर कुँवरले वडास्तरमै गएर आँखा परीक्षण गरी मोतीबिन्दु भएकाको शल्यक्रिया निःशुल्क हुन्छ भनेर जानकारी गराउँदा समेत करिब एक सय जना बिरामीहरू शल्यक्रियाका लागि नआएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि मोतीबिन्दुको समस्या यस्तो छ, यहाँबाट अस्पताल पुग्न एक घण्टा लाग्छ । उहाँहरूलाई मेरो आँखामा रोग लागेको छ उपचार गरे निको हुन्छ भन्ने ज्ञान छैन, यहाँ यहाँका मानिसहरूलाई आँखा उपचारको आवश्यकता महसुस नै छैन ।’’

नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।

सिबिएम ग्लोबलको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम मार्फत हालसम्म प्रदेशका छ हजार भन्दा बढी आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरी सकिएको कुँवरले जानकारी दिनुभयो ।